सुर्खेत । नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
नेपाल बैकर्स एसोसियसनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमूख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए ।
भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए ।
‘सरकारले लिएको नीति तथा कार्यक्रम अनुसार नै राष्ट्र बैंकले पनि आवश्यक नितीहरु बनाउने हो’ उनले भने, ‘मौद्रिक नितीका कारण राज्यका कार्यक्रम र नागरिकहरुलाई सहज सेवा प्रवाह हुनुपर्दछ ।’
कार्यक्रममा निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले राष्ट्र बैंकले ल्याउने लगानी नितीले सरकारले लिएको समृद्धिको अभियानलाई सहयोग पु¥याउनु पर्ने बताए । कर, भ्याट, ब्याज, जरिवाना लगायतका विभिन्न समस्याले निर्माण व्यवसायीहरु मारमा परेको भन्दै उनले त्यसको सहजताका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।
पर्यटन व्यवसायी हरी बिष्टले बैंकले लगानी गर्दा देखाउने ब्याज र भुक्तानीको समयमा गरिने हर्जनालगायतका समस्याले व्यवसायीहरु मारमा परेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष सिंहराज वमले बैंकिङ क्षेत्रको आधुनिकीकरण, डिजिटल भुक्तानी तथा व्यवसाय प्रबद्र्धनमा सहजता अपनाउन सकेमात्र देशमै रोजगारीका अवसर सिर्जन ागर्न सकिने बताए ।
कार्यक्रममा सहभागी विभिन्न बैंकमा प्रदेश कार्यालय प्रमूखहरुले कर्णालीमा लगानी बढाउन, उसुली गर्न तथा लगानीको सुरक्षा गर्न चुनौती बढेकोले त्यस्तो लगानीमा राज्यले सहयोग गर्ने गरी निती बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल बैंकर्स एसोसियसन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरोज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णालीको लागनी अवस्था र आगामी मौद्रिक नितीमा समेट्नु पर्ने सुझावका बिषयमा छलफल गरिएको थियो ।
देशमै पहिलो पटक कर्णालीमा यस्तो छलफल भएको भन्दै अध्यक्ष टण्डले छलफलबाट आएका सुझावहरु राष्ट्र बैंकमा पठाउने बताए ।
प्रतिक्रिया