काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित फलफूल बजार नजिकैबाट लागुऔषधसहित एक भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडी नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गत २०८२ असार ३० गते साँझ करिब ९ बजे लागुऔषधको ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट (UP78CB9835) भएको शङ्कास्पद स्यान्ट्रो गाडीलाई रोकेर जाँच गर्दा गाडीको ढोका र डिक्कीमा अक्सिजन सिलिन्डरभित्र लुकाइ राखिएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुल बरामद भएको थियो।
प्रहरीका अनुसार बरामद लागुऔषधमध्ये ट्रामाडोलका ८२,९०० क्याप्सुल फेला परेका छन्। साथै, घटनास्थलबाट दुई थान मोबाइल, एक थान अक्सिजन सिलिन्डर, भारतीय स्यान्ट्रो कार तथा नगद ६५ हजार रुपैयाँ समेत बरामद गरिएको छ।
यस सम्बन्धमा प्रहरीले नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २६ वर्षीय राजु मिजार र सोही स्थान बस्ने २४ वर्षीया मीना मगरलाई पक्राउ गरेको हो।
पक्राउ परेका राजु मिजार यसअघि पनि लागुऔषधसम्बन्धी विभिन्न मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ। मिजारविरुद्ध लागुऔषध नियन्त्रण ब्यूरोबाट मिति २०७८ मंसिर ३ गते, प्रहरी वृत्त जगाती भक्तपुरबाट २०८१ असार ५ गते र प्रहरी वृत्त थानकोटबाट २०८१ साउन १ गते लागुऔषध मुद्दा दर्ता भइसकेको अभिलेखमा देखिएको छ।
दुवै अभियुक्तलाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया