काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश दोलालघाट–चर्मावती सुरुङमार्ग काठमाडौंलाई चीनसँग जोड्ने फास्ट ट्र्याकको रूपमा अगाडि बढाइने भएको छ। शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले त्रिदेशीय (नेपाल–भारत–चीन) कनेक्टिभिटी सृजना र दोलखाको समग्र विकासका लागि यो सुरुङलाई ‘गेम चेञ्जर प्रोजेक्ट’ का रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कनेक्टिभिटीमा केन्द्रित विकास योजनाअनुसार दोलालघाट–चर्मावती सुरुङ मार्ग प्रस्ताव गरिएको बताए। प्रारम्भिक बजेटमा विनियोजन भएको ४५ लाख अपुग भएको स्वीकार गर्दै मन्त्री दाहालले आवश्यकता अनुसार थप बजेट उपलब्ध गराइने र वैदेशिक सहयोग तथा सहुलियत ऋणमार्फत परियोजना अगाडि बढाइने स्पष्ट पारे।
पूर्वमन्त्रीहरू आनन्द पोखरेल, पार्वत गुरुङ, सरस्वती बस्नेत, कांग्रेसका नेता जिपछिरिङ लामा, ताराबहादुर कोईरालालगायत वक्ताहरूले सुरुङमार्गले दोलखाको धार्मिक, पर्यटकीय र आर्थिक विकासमा उल्लेख्य योगदान दिने विश्वास व्यक्त गरे। उनीहरूले भ्रष्टाचाररहित, पारदर्शी र समावेशी प्रक्रिया अपनाउन जोड दिएका थिए।
कार्यक्रममा सडक विभागका अधिकारीहरूले परियोजनाको सम्भाव्यता अध्ययन छिट्टै सम्पन्न गरिने जानकारी दिए। नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको कार्यक्रममा प्रमुख दलहरूको सहभागिता भए पनि माओवादी केन्द्र भने अनुपस्थित रहेको जनाइएको छ।
प्रतिक्रिया