Logo

समाचार

बंगलादेशमा व्यवसायिक रुपमा पहिलो पटक विद्युत निर्यात सुरु



काठमाडौं । नेपालले आज असार १ गतेबाट तेस्रो मुलुक बंगलादेशमा व्यवसायिक रुपमा पहिलो पटक विद्युत निर्यात (विक्री) सुरु गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त जानकारी गराएको हो ।

सोही क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी भएको बताए ।

उनले भने, ‘तेस्रो मुलुकमा विद्युत निर्यात गरिरहेको यो पहिलो पटक भएका कारण खुशी व्यक्त गर्न चाहन्छौ । गएराति १२ बजेपश्चात फेरि ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गरेका छौ र यो पाँच महिना रहन्छ । यसबाट २५ करोड महिनाको आयको रुपमा प्राप्त गर्छौ । गत वर्ष पनि हामीले निर्यात धेरै गरेका थियौं र यो मुलुकका लागि महत्वपूर्ण हो ।’

एउटा आयोजनामा लाखौ मान्छेले प्रत्यक्ष रोजगारी दिने र खर्बौको राजस्व उठाउने भन्दै आन्तरिक खपतसँगै निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताए ।

उनले भने, ‘एउटा मात्र आयोजना सुरु गर्यौ भने लाखौ मान्छेले प्रत्यक्ष रोजगारी पाउछन् भने अप्रत्यक्ष रुपमा झन धेरैले पाउँछन् । यसबाट खर्बौको राजस्व पनि उठ्छ । यो क्षेत्र नेपालको दिगो आर्थिक विकासका लागि भरपर्दो माध्यम हुने भएको कारण अझ बढी ध्यान दिएर उत्पादन गर्नुपर्छ । आन्तरिक खपतसँगै निर्यात पनि गर्ने र आन्तरिक खपतलाई भरपर्दो र सुरक्षित बनाउने लक्ष्यका साथ पनि काम गरिरहेका छौ ।’

यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हरेक वर्ष खपत वृद्धि करिब ८ देखि १२ प्रतिशतले भएको भन्दै अहिले भएको सिस्टमले यो लोडलाई थाम्न नसक्ने बताए ।

उनले भने, ‘हाम्रो खपत वृद्धि हरेक वर्ष करिब ८ देखि १२ प्रतिशत छ । यो वृद्धि भएसँगै प्रशारण र वितरण लाइन पनि त्यही हिसाबले सदृढ हुनुपर्ने कुरा स्पष्टै छ । त्यो हुन सकेन भने समस्याहरु आउन सक्छ । अहिले भएको सिस्टमले हालको लोडलाई थाम्न सक्दैन् । यसलाई सुधार गर्नुपर्छ ।’

मन्त्रालयले उर्जा विकास मार्गचित्र सार्वजनिक गरि आगामी १० बर्षभित्र सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन गरि भारतमा दश हजार मेगावाट र बंगलादेशमा पाँच हजार मेगावाट गरि १५ हजार मेगावाट भन्दा बढी विद्युत निर्यात गर्ने सम्झौता भइसकेको पनि जानकारी गराएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काको नेतृत्वमा २०८९ असोज १७ मा भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर, बंगलादेशका विद्युत, उर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल किवर खानबीच बंगलादेशमा ४० मेगावाट विजुली बेच्ने सम्झौता भएको थियो ।

जून १५ देखि नोभेम्वर १५, २०२५ सम्म ५ महिना नियमित विद्युत बंगलादेश विक्री गरिनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत निर्यात हुनेछ । उक्त विद्युत विक्रिवापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैंया आम्दानी गर्नेछ ।

नेपालमा उत्पादित विद्युत ४०० केभी प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुर, मुजफ्फरपुर– वेहरामपुर हुदै भेडामारा (बंगलादेश) सम्म निर्यात भइरहेको छ । त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित १८.६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१.४० मेगावाट गरि ४० मेगावाट विद्युत बंगलादेश निर्यात भैइरहेको छ । विद्युत प्राधिकरणले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरि विक्री गर्ने सम्झौता भएको छ ।

नेपाल विद्युत प्राधिकरणले जुन १५ देखि भारतको हरियाणा राज्यमा पनि विद्युत निर्यात सुरु गरिसकेको छ । जेठ १८ बाट १ सय ८५ मेगावाट विद्युत निर्यात गर्दै आएको प्राधिकरणले जेठ ३१ (शनिबार) रातीदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत निर्यात सुरु गरेको छ । गएराती १२ बजेदेखि नै भारतको बिहार राज्यमा ८० मेगावाट विद्युत निर्यात सुरु गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४९ बजे