सिरहा । लागुऔषध कारोबार तथा प्रयोग नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय गोलबजारले पछिल्ला तीन दिनमा तीन फरक स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँच युवा र एक नाबालक रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हिरोइन, गाँजा सेवनका उपकरण, धारिलो हतियारसमेत फेला परेको छ । गोलबजार नगरपालिका–४ स्थित क्याम्पस चौक नजिकै शंकास्पद रूपमा हिंडिरहेका अर्नमा गाउँपालिका–३ निवासी २० वर्षीय राकेश कुमार महतोको शरीर खानतलासी गर्दा दाहिने हातमा दुई साना प्लास्टिकका पोकामा ४४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सोही ठाउँमा रहेको एक घरमा गोप्य सूचनाका आधारमा छापा मार्दा थप तीन जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा अर्नमा गाउँपालिका–३ का अभिषेक कुमार महतो ९२००, धनगढीमाई नगरपालिका–८ का सन्तोष कुमार महतो (२२) र औरही गाउँपालिका–१ का प्रदीप कुमार यादव (१८) रहेका छन् । उनीहरूको कोठाबाट दुई पोका खैरो हिरोइन ९०.९७
(मिलिग्राम), धारिलो चक्कु तथा वाटर गञ्ज समेत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, गोलबजार–५ स्थित डम्बर बहादुर मगरको खेतमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले २२ वर्षीय दिपेन कुमार साह र एक नाबालकलाई पक्राउ गरेको हो । दिपेनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध बरामद गरिएको छ ।
पक्राउ परेकाले उक्त लागुऔषध बिमल कुमार महतोबाट बिक्रीका लागि पाएको स्वीकार गरेपछि बिमलको घरमा गरिएको खानतलासीमा जुत्ता–चप्पल राख्ने दराजमा लुकाइएको तीन पोका (४०० मिलिग्राम) लागुऔषध फेला पारिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारले लागुऔषधमा संलग्नहरूलाई नियन्त्रणमा लिन गस्ती, निगरानी र छापा अभियानलाई अझ तीव्र बनाइएको जनाएको छ ।
पक्राउ परेकाहरूमाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।
प्रतिक्रिया