काठमाडौं । न्याय परिषद्ले शुक्रबार चार उच्च अदालतका लागि मुख्य न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति भएपछि खाली भएका पदहरू पूर्ति गर्न सिफारिस गरिएको हो।
परिषद्को निर्णय अनुसार, उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगन्ज)का न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशका रूपमा सिफारिस गरिएको छ। यस्तै, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर सोही अदालतको मुख्य न्यायाधीशका लागि सिफारिस भएका छन्। कुँवर यसअघि सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार थिए।
त्यसैगरी, उच्च अदालत विराटनगरका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशको रूपमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत तुलसीपुरमा काजमा कार्यरत थिए।
उच्च अदालत तुलसीपुर (बुटवल इजलास)का न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको छ।
साथै, परिषद्ले उच्च अदालत दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगन्ज)मा सरुवा गर्ने निर्णय गरेको छ। डाँगी हाल वैदेशिक रोजगार न्यायाधिकरणमा काजमा कार्यरत छन्।
परिषद्ले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन (हेटौंडा इजलास)का न्यायाधीश डा. शान्ता सेढाईं सापकोटालाई सिफारिस गरेको छ।
सिफारिसमा परेका न्यायाधीशहरूको नियुक्ति प्रधान न्यायाधीशबाट हुनेछ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया