काठमाडौं । भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ ।
बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए ।
जसमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगली नागरिक र एक जना क्यानाडाली नागरिक रहेका थिए ।
विमानले रनवे २३ बाट उडान भरेको दुई मिनेटमै एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले आपतकालीन संकेत जानकारी दिएको थियो । तर, त्यसपछि ककपिटबाट कुनै सम्पर्क प्राप्त हुन सकेन ।
प्रारम्भिक रिपोर्टअनुसार विमानको पछाडिको भागले एउटा रुखमा ठोक्किँदा नियन्त्रण गुमेर विमान विमानस्थलको परिधिबाहिर खसेको हो । त्यसपछि विमान नजिकैको संरचनामा ठोक्किएको र घटनास्थलबाट बाक्लो कालो धुँवा उडेको बताइएको छ ।
दुर्घटनापछि उद्धार तथा दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए । केही यात्रु र चालक दलका सदस्यहरू घाइते भएको प्रारम्भिक जानकारी आएको छ, यद्यपि कति घाइते छन् र तिनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पुष्टि हुन बाँकी छ ।
घट्नापछि विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू अहमदाबाद पुगेका छन् ।
प्रतिक्रिया