Logo

प्रदेश

समुन्नत कर्णाली अभियानअन्तर्गत शान्ति समाजद्वारा रु. २७ लाख ९६ हजारको छात्रवृत्ति वितरण



काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विपन्न दलित समुदायका बालिकाहरूलाई लक्षित गर्दै सञ्चालन गरेको तीन वर्षे छात्रवृत्ति अभियान सम्पन्न भएको छ। “छोरी पढाऔँ, गरिमा बढाऔँ” भन्ने नारासहित २०८० सालमा सुरू गरिएको अभियानअन्तर्गत समाजले हालसम्म कूल रु. २७ लाख ९६ हजार बराबरको छात्रवृत्ति वितरण गरेको हो।

तेस्रो तथा अन्तिम वर्षको छात्रवृत्ति वितरण कार्यक्रम २०८२ जेठ २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। यस क्रममा हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतका ९ विद्यालयमा अध्ययनरत ७० जना दलित बालिकालाई जनही रु. १२ हजारका दरले कुल रु. ८ लाख ४० हजार वितरण गरिएको समाजले जनाएको छ।

पहिलो वर्षमा ८४ जनालाई छात्रवृत्ति दिइएकोमा दोस्रो वर्ष विद्यालय छाड्ने ५ जनालाई हटाई ७९ जनालाई र तेस्रो वर्ष थप ९ जनाले विद्यालय नछाडेकाले ७० जनालाई छात्रवृत्ति वितरण गरिएको हो। यसले कर्णाली प्रदेशमा अझै पनि विद्यालय छाड्ने दर उच्च रहेको संकेत गरेको शान्ति समाजले जनाएको छ।

छात्रवृत्ति वितरणका लागि शान्ति समाजका महासचिव प्रकाश शाही, गण्डकी प्रदेश सचिव तिर्थराज न्यौपाने, सुर्खेत शाखा सभापति दीपक गौतमसहितको टोलीले सम्बन्धित जिल्लामा विद्यालयमै पुगेर कार्यक्रम सञ्चालन गरेका थिए।

कालिकोटका शुभकालिका माध्यमिक विद्यालयका १३ जना, खाडाचक्र–मान्मस्थित जनजीवन मा.वि.का १६ जना, जुम्लाको अन्नपूर्ण मा.वि.का ४ जना, गोठिज्युलास्थित कनकासुन्दरी मा.वि.का १२ जना, मुगुको महाकाली नमुना मा.वि.का ६ जना, नेपाल राष्ट्रिय मिनि मा.वि.का ३ जना, दैलेखको महादेव मा.वि.का ५ जना तथा सुर्खेतमा आश्रय लिएका बादी समुदायका ६ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको हो।

त्यस्तै हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभूत विद्यालयका २ जना र हिमज्योति मा.वि.का ३ जनालाई विद्यालयमार्फत छात्रवृत्ति हस्तान्तरण गरिएको थियो। तीन वर्षे अभियानमा ७० भन्दा बढी व्यक्ति तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोग प्रयोग गरिएको शान्ति समाजले जनाएको छ।

यसैबीच, शान्ति समाजले ‘समुन्नत कर्णाली अभियान’ अन्तर्गत मुगुको गमगढी, जुम्लाको कनकासुन्दरी, कालिकोटको मान्म र सुर्खेतमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ। सुर्खेतमा जेठ २४ गते सम्पन्न संवाद कार्यक्रममा बोल्दै संस्थापक सभापति कृष्ण पहाडीले कर्णाली प्रदेश न्यून कार्बन उत्सर्जन क्षेत्र भएकाले जलवायु क्षतिपूर्ति कर्णालीले पाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पूर्व अर्थमन्त्रीहरू बिन्दमान विष्ट र वेदराज सिंह, पूर्व सामाजिक विकास मन्त्री खड्क पोख्रेल, नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मत विष्ट, योजना आयोग सदस्य अशोकनाथ योगी लगायत दुई दर्जनभन्दा बढी वक्ताले कर्णालीको विकासमा बहुआयामिक पहल आवश्यक रहेको धारणा राखेका थिए।

शान्ति समाजका सभापति रेनुका पौडेल, महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति दीपक गौतम, अवधारणापत्र प्रस्तुतकर्ता दिल्लीप्रसाद जैसी लगायतको टोलीले कार्यक्रमको सहजीकरण गरेका थिए।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : ०५ बजे