Logo

मुख्य समाचार

काठमाडौं महानगरमा मेयर बालेन र उपमेयर डंगोलबीच तीन महिनापछि भेटवार्ता, कार्यपालिका बैठकबारे छलफल



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच तीन महिनापछि भेटवार्ता भएको छ। राष्ट्रिय सभागृहमा बुधबार भएको भेटमा नगरसभा कहिले राख्ने भन्ने विषयमा छलफल भएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रवक्ता मानन्धरसहित काठमाडौं–३२ का वडाध्यक्ष नवराज पराजुली, वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोललगायत केही प्रतिनिधिहरू बैठकमा सहभागी थिए। प्रारम्भिक छलफलपछि मेयर र उपमेयरबीच छुट्टै वार्ता भएको हो। आज (बिहीबार) पनि थप भेटवार्ताको तयारी भइरहेको स्रोतले जनाएको छ।

महानगर स्रोतका अनुसार, मेयर र उपमेयरबीच गत पुसदेखि मतभेद चुलिँदै आएको थियो। विभागीय बैठकहरूमा केहीपटक औपचारिक भेट भए पनि गम्भीर विवाद सतहमा आएपछि प्रत्यक्ष सम्पर्क बन्द भएको थियो।

मुख्य प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथिको कारवाहीसँगै मेयर र उपमेयरबीचको दूरी थप बढेको थियो। गुरागाईंले प्रक्रिया नपु¥याई काठमाडौं टावरको नक्सा पास गरेको आरोप लागेपछि मेयर शाहले उनलाई छानबिनमा तानेका थिए। त्यसपछि मेयरले कार्यकक्षमा ताला लगाएर गुरागाईंलाई काम गर्न नदिएका थिए, भने उपमेयर डंगोलसहितका जनप्रतिनिधि र कर्मचारीले गुरागाईंको उपस्थितिको वातावरण बनाएका थिए।

चार महिनासम्म रोकिएको कर्मचारीको तलब पनि त्यसपछि निकासा भएको थियो। यता, नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गुरागाईंको कार्यालय प्रवेशमा रोक लगाएको भन्दै छ महिनाका लागि निलम्बन गरिएको थियो।

आन्तरिक विवादले आर्थिक वर्ष २०८२/८३ को बजेटसमेत अन्योलमा परेको छ। महानगर स्रोतका अनुसार, गत वर्ष यही समयमा बजेटको मस्यौदा तयार भइसकेको थियो। हालसम्म कार्यपालिका बैठक बस्न सकेको छैन। अन्तिमपटक पुस ८ गते बैठक बसेको थियो।

उपमेयर डंगोलसहित ४१ कार्यपालिका सदस्यले जेठ १२ गते कार्यपालिका बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए। गत चैत १० गते नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले पनि मेयर समक्ष कार्यपालिका बैठकको माग गरेका थिए।

महानगरमा स्वतन्त्र मेयर अल्पमतमा रहेका कारण कार्यपालिका निर्णय प्रक्रियामा असहजता देखिएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १२ : १३ बजे