काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा सञ्चालित मुन्ना जेम एण्ड ज्वेलर्स मा राजस्व बिल बिना सुन, हिरा र बहुमूल्य पत्थरको गरगहना बिक्री वितरण भइरहेको पाइएको छ।
प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी पसल सञ्चालकसहित चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत, कोलकाताका:
- हरिवोर सेख (४३ वर्ष) ,
- सुरोजित दास (३९ वर्ष),
- तमोल साद्रा (४० वर्ष),
- सामुहिम सेख (१६ वर्ष) रहेका छन्।
प्रहरीका अनुसार छापामा रु. २ करोड १ लाख ७८ हजार ३६० मूल्य बराबरका बिलविहीन गरगहना तथा हिरा बरामद गरिएको हो। बरामद गरगहनामा नेक्लेस, रिङ, लकेट, टप, कानको बाला, चुरा, ब्रासलेट लगायतका सुन तथा हिराका विभिन्न गहना र विविध डाइमण्ड कट तथा क्वालिटी रहेका छन्।
साथै विभिन्न बैंकका चेक, नगद रसिद, मोबाइल फोन, र पसलसम्बन्धी विलहरू समेत फेला पारिएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ।
प्रतिक्रिया