कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा कार्यरत पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त घटनाबारे जानकारी दिएको छ।
जेठ २१ गते दिउँसो स्थानीय १० देखि १५ जनाको समूहले असई चन्दलाई कुटपिट गरेको घटनाको भिडियो हालै मङ्गलवार सार्वजनिक भएको थियो। प्रहरीले पक्राउ पर्नेमा बेलौरी–८ का राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सागर बोहरा अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिनेछ।
स्थानीय पदम रानाका अनुसार, भारतबाट लुकाई मल खाद ल्याउने प्रयासलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। रोपाइँको समयमा किसानहरू अझै पनि मल खादका लागि भारतमा निर्भर रहेको जनाइएको छ। मल खाद ल्याउन रोक लगाउँदा स्थानीयहरूले असई चन्दलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया