काठमाडौं । नेपाल प्रहरीको डिएसपी (उपरीक्षक) भएको भन्दै एक व्यक्तिको मुद्दा मिलाइदिने बहानामा ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका क्रममा ठगीमा संलग्न रहेको पुष्टि भएपछि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूलाई थुनामा राखिएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला चौरी देउराली–८ का ४५ वर्षीय ज्ञानु तामाङ उर्फ ज्ञानबहादुर लामा र सुनसरी इटहरी उपमहानगरपालिका–४ का स्थायी बासिन्दा तथा हाल काठमाडौंको कलंकीमा बसोबास गर्दै आएका ४२ वर्षीय रेवती ओझा छन्।
तामाङले अघिल्ला दिनहरूमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनलाई मिति २०७० साल फागुन २० गते हातहतियार खरखजाना सम्बन्धी कसुरमा ५ वर्षको जेल सजाय सुनाइएको थियो। त्यसअघि मिति २०७० साल वैशाख १६ गते सार्वजनिक अपराधमा र २०६७ साल कात्तिक ४ गते जुवासम्बन्धी मुद्दामा समेत उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका दुबै जनाले आफूहरू उच्च प्रहरी अधिकारी रहेको विश्वास दिलाई हिरासतमा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिने भन्दै पीडितसँग ठगी गरेका थिए।
उनीहरूमाथि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
प्रतिक्रिया