काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको विधानमा रहेको केन्द्रीय सदस्य थप्ने सीमालाई निस्क्रिय बनाउँदै अब असीमित केन्द्रीय सदस्य नियुक्त गर्न सक्ने भएको छ। जेठ १२ गते बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी महासचिव देव गुरूङद्वारा जारी सर्कुलरमा “पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी विधानमा उल्लेखित १० प्रतिशत सीमालाई निस्क्रिय बनाउने” उल्लेख गरिएको छ। यस निर्णयअनुसार अब पार्टीले आवश्यकताअनुसार जतिपनि केन्द्रीय सदस्य थप्न पाउनेछ।
माओवादी केन्द्रको २०८० फागुनमा सम्पन्न विधान सम्मेलनले पार्टी एकता वा समायोजनका सन्दर्भमा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म मात्र नयाँ सदस्य थप्न सकिने व्यवस्था गरेको थियो। हाल माओवादी केन्द्रमा ४०८ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ। यो संख्याका आधारमा बढीमा ४० जना मात्र थप्न सकिने अवस्था थियो।
तर, पार्टीले पटक–पटक थपेका सदस्यहरूको विवरण आधिकारिक वेबसाइटमा अद्यावधिक नगरिएकाले वास्तविक संख्या स्पष्ट छैन। पार्टीभित्र समेत अहिले केन्द्रीय सदस्यको यकिन संख्या थाहा नभएको स्रोतले जनाएको छ।
विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित गरे पनि महाधिवेशनसम्मका लागि अहिलेको संरचना यथावत् राख्ने निर्णय भएको थियो। माओवादी केन्द्रले आगामी असारमा केन्द्रीय समिति बैठक र मंसिरमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिक्रिया