Logo

मुख्य समाचार

५२ पदाधिकारीविरुद्धको रिटमा आज फैसला हुँदै, १५ रिट एकैपटक टुंगोमा



काठमाडौं । असंवैधानिक रूपमा नियुक्त गरिएको भनिएका संवैधानिक निकायका ५२ पदाधिकारीसम्बन्धी १५ वटा रिट तथा निवेदनमा आज (बुधबार) संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ।

२०७७ पुस १ गते जारी गरिएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश’मार्फत गरिएका नियुक्ति खारेजको मागसहित विभिन्न कानुनी र संवैधानिक प्रश्न उठाउँदै यी रिटहरू दायर गरिएका थिए।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुख्य रिटसहित उनका चार वटा निवेदन छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कीर्तिनाथ शर्माका दुई–दुई रिट छन्। प्रतिनिधिसभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले समेत परिषद्लाई विपक्षी बनाउँदै रिट दायर गरेका छन्।

न्यायाधीश चयन प्रक्रिया विवादमा परेपछि डा. पुन्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संवैधानिक इजलासमा अनिवार्य उपस्थितिको माग गर्दै रिट दिएका थिए। सोही रिटमा न्यायाधीश हरिप्रसाद फुयालले अन्तरिम आदेश जारी गरेका थिए, जसमा संवैधानिक इजलासले न्यायिक टिप्पणी गरिसकेको छ।

रिटकर्तामध्ये अधिवक्ता समृद खरेलको निवेदन पनि आजको फैसलामा समावेश गरिएको छ। लामो समयदेखि विचाराधीनमा रहेका यी रिटमाथि संवैधानिक इजलासले अन्तिम टुंगो लगाउने तयारी गरेको हो।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १ : १९ बजे