काठमाडौं । आज दिउँसो टोखाको ग्राण्डी अस्पताल नजिकै गोली चल्दा दुईजना घाइते भए ।
मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको थियो ।
तर एक्कासी गोली चल्दा घटनास्थल नजिकै रहेका प्रत्यक्षदर्शीहरुले अत्तोपत्तो पाउन सकेनन् । नेपाल न्यूज बैंकले विस्तृत रुपमा घटना स्थलमा बुझ्दा प्रत्यक्षदर्शीहरुले प्रहरीहरु ड्रेसमा नभएकाले सुटिङ भईरहेको जस्तो लागेको बताए ।
घटनास्थल नजिकै पसल चलाउँदै आएकी नानीमुया कार्कीले पहिला बाइकको जस्तो आवाज आएको र बाहिर हेर्दा गोली लागि दुईजना ढलेको देखेको बताइन् ।
उनले भनिन्,‘म त्यती बेला पसल भित्र थिए । ठ्याक्कै गोली चल्यो बाहिर गएर हेरे मलाई त सुटिङ जस्तो लाग्यो । गोली चलेपछि मान्छे लडेको देखे । त्यती गर्दा नि सुटिङ नै जस्तो लाग्यो मलाई त । गोली हान्ने मान्छेले माथि आकाशतिर फाइरिङ गरेको देखे मैले । त्यो देखेर म दौडिएर भित्र आए । गोली खुट्टामा लागेको थियो । प्रहरीहरु ड्रेसमा थिएनन् सिभिलमा थिए । हामीले त प्रहरी जस्तो पनि लागेको थिएन् । पहिला त बाइकको जस्तो आवाज आएको थियो । मान्छे लडिँरहदा पनि मैले चै सुटिङ नै सोचे । यो रियल भन्ने पछि मात्र थाहा पाए । रगत देख्दा पनि रंग जस्तो लाग्यो । प्रहरी माथिको आक्रमण भएको हामीले देखेनौँ । दुईजना मान्छे ढलेको मात्र देखे ।’
यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् ।
‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर ढलेका थिए । त्यो देखेर चै डर लाग्यो । त्यती बेला म मात्र थिए । निलो गाडिले छेकेर मैले गोली चलाको चै देखिन,’ उनले भनिन् ।
घाइते भएका लागुऔषध कारोबारीलाई ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया