Logo

समाचार

नागार्जुनमा जुवा खेल्दै गरेका ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–४, रानीपाटी पानीट्याङ्की नजिक एक घरमा जुवा तास खेल्दै गरेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मंगलबार दिउँसो ३ बजे सो घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये एक महिला र सात जना पुरुष छन्। प्रहरीले उनीहरूबाट १ लाख १० हजार ६३० रुपैयाँ नगद र तीन थान तासका बुकसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमा जिल्ला गुल्मी, रेसुङ्गा गाउँपालिका–८ घर भई हाल सो घरमा डेरा गरी बस्दै आएकी ३२ वर्षीया उषा थापा, काठमाडौं नागार्जुन नगरपालिका–६ का ५८ वर्षीय राजकुमार शाही, मकवानपुर थाहा नगरपालिका–१२ घर भई कालिमाटी बस्ने २६ वर्षीय सन्तोष तामाङ, काठमाडौंका दुर्गा बहादुर तामाङ, तुलराम थिङ, मन कुमार केरुङ लिम्बु, धन बहादुर भोलन र राजकुमार तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरू जुवा तास खेलिरहेका बेला रंगेहात पक्राउ परेका हुन्। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप लिइएको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ६ : १२ बजे