काठमाडौं । नेपालका कुना–कुनामा निर्मलाको अनुहार अझै बिर्सिएको छैन । २०७५ सालको त्यो कालो दिन, कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्त बलात्कृत र हत्या भई फेला परेकी थिइन् । न्यायको आशामा देशभरका जनताले आवाज उठाए, मशाल बाले, आँसु बगाए । तर आज सात वर्ष पुग्दा पनि उत्तरविहीन प्रश्नहरू अझै बाँचिरहेका छन् ।
समाजमा घट्ने सत्य घटनाले न केवल पीडित र उनका परिवारलाई झस्क्याउँछ, पूरै देशलाई नै झकझक्याउने गर्छ । निर्मलाको बलात्कारपछि हत्या घटनाले अझै पनि सम्पूर्ण नेपाली समाजको मनभित्र पीडाको आँधी चलाइरहेको छ ।
सात वर्ष बितिसक्दा पनि न्यायको ढोका खुल्न नसक्दा आमजनमानसमा प्रश्न उब्जिरहेको छ । ‘अझ कति वर्ष कुर्नुपर्ने हो ?’ यसै घटनाले नेपाली कलाकार समूदायलाई पनि गहिरो रूपले छोएको छ । कलाकारहरु भन्छन्,‘निर्मला पन्तको जस्तो पीडादायी घटनाले समाजलाई झकझक्याउनुपर्छ, र यस्ता घटनालाई कलात्मक रूपमा फिल्ममा उतारेर सन्देश दिन जरुरी छ ।
‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
उनले थपे, ‘निर्मला पन्तको हत्या एक अत्यन्त पीडादायी घटना हो । यो घटनाले पूर्णता पाउनुपर्छ, दोषी उम्किनु हुँदैन । पीडितले न्याय पाओस् भन्ने हाम्रो साझा कामना हो । अबका दिनमा निर्मलाजस्ता छोरीहरूले यस्तो नियति भोग्न नपरोस् । जसले निर्मलालाई मृत्युको मुखमा पुर्यो, उसले एक दिन त सजाय पाउनेछ नै । यस्ता घटनालाई पर्दामा उतार्नु जरुरी छ, ताकि समाजले पाठ सिकून ।’
कलाकार अनुप विक्रम शाही पनि सामाजिक यथार्थको प्रतिनिधित्व गर्ने फिल्महरूको पक्षमा छन् । उनी भन्छन्, ‘सामाजिक घटनाक्रममा आधारित फिल्मले मौनतामा आवाज दिन्छ । चलचित्र आफैँमा एउटा सशक्त माध्यम हो जसले समाजको यथार्थ देखाउन सक्छ ।’
दिव्यदेव पन्त, जसको गृहक्षेत्रमै यो घटना भएको थियो, अझ गहिरो भावनामा डुबेका छन् । उनी भन्छन्, ‘निर्मलाको घटना एक राष्ट्रिय पीडा हो । यत्रो वर्ष बितिसक्दा पनि दोषी पक्राउ नपर्नु, कुनै किनारमा नपुग्नु, सरकार र सम्बन्धित निकायको लापरवाहीको नांगो उदाहरण हो ।’
उनले चलचित्रमा मात्रै नभइ विभिन्न माध्यमबाट यो मुद्दामा निरन्तर आवाज उठ्नुपर्ने बताए । ‘यो हाम्रो क्षेत्रको घटना भएकाले म अझ व्यक्तिगत रूपमा पनि प्रभावित छु । अपराधी चाँडोभन्दा चाँडो पत्ता लाग्नुपर्छ । तर, यो त हामीले न्यायको माग गर्ने कुरा मात्रै हो, काम त सरकारको हो । यस्ता घटनालाई फिल्ममा उतारेर समाजमा चेतना फैलाउनु एकदम जरुरी छ,’ उनले भने ।
कलाकारहरूको साझा आवाज यही हो–समाजले बोल्न नसक्ने पीडालाई चलचित्रमार्फत बोल्ने प्रयास गरिनुपर्छ । र निर्मलाको घटनाजस्तो पीडा अबका दिनमा नदोहरियोस् भन्ने सन्देश दिन फिल्मजस्ता माध्यमहरू सक्रिय रहनुपर्छ ।
प्रतिक्रिया