काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक सूचकांकअनुसार देशको कुल विदेशी विनिमय सञ्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ। गत वर्षको तुलनामा यो उल्लेख्य वृद्धि मानिएको छ, जसले आयात कभरेज क्षमता पनि सुदृढ बनाएको बताइएको छ।
रिपोर्ट अनुसार, वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ। शोधनान्तर स्थिति रु. ४३८ अर्ब ५२ करोडले बचतमा रहँदा देशको बाह्य क्षेत्र सन्तुलन सकारात्मक देखिएको छ।
त्यस्तै, चालु आर्थिक वर्षमा आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह पनि उल्लेख्यरूपमा वृद्धि भएको देखिन्छ — नेपाली रुपैयाँमा १३.२ प्रतिशत र अमेरिकी डलरमा १०.५ प्रतिशतले।
नेपाल सरकारको खर्च रु. ११५७ अर्ब ८९ करोड पुगेको छ भने राजस्व परिचालन रु. ९२२ अर्ब ४३ करोड रहेको छ। विस्तृत मुद्राप्रदाय वार्षिक बिन्दुगत आधारमा ११.४ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ११.४ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ। यी सबै आर्थिक संकेतकले नेपालको वित्तीय अवस्था सुदृढ हुँदै गएको देखाएको छ।
प्रतिक्रिया