Logo

मुख्य समाचार

सर्वसाधारण भन्छन् : निर्मलाको हत्या गर्नेको आत्माले कहिले शान्ति पाउँदैन्



काठमाडौं । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने भनाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ । तर वर्तमान परिदृश्यमा उक्त भनाइ कति सान्दर्भिक र व्यवहारिक छ भनेर मूल्यांकन गर्न निर्मला पन्त प्रकरणलाई हेरे पुग्छ ।

अन्यायमा परि न्यायको आशमा जीवन व्यथित गरिरहेका कयांै घटना छन् । ति घट्नाहरुबाट गोर्खा जाने प्रसंगसँग मेल खाँदैन् । यस्तै एउटा बिर्सिनै नसक्ने घटना हो निर्मला पन्त हत्या प्रकरण । 

२०७५ साल कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको थियो । उक्त घटनालाई लिएर न्यायको आशामा देशभरका जनताले आवाज उठाएका थिए । आज सात वर्ष पुग्दा पनि ती आवाज सम्बधित निकायले सुन्न नसकेको सर्वसाधरणहरु बताउँछन् ।

सरकारले निर्मलालाई बिर्सेपनि आफूले बिर्सिन नसकेको भन्दै यस विषयमा एकोहोरो लाग्नुपर्ने गृह मन्त्रालयले वेवास्था गरिरहेको कानुनका विद्यार्थी अजय पौडेल बताउँछन् । उनले सरकार परिवर्तन भइरहने खेलले गर्दा पनि यसको टुङगो लाग्न नसकेको बताए ।

‘सरकार स्थिर हुन सकेको छैन् । सरकार परिर्वतन भइरहेको छ । सरकार स्थिर भएको भए एउटा निर्णय हुने थियो । त्यसबेला गृहमन्त्रीले राजीनामा दिनपर्यो भन्ने खालका कुराहरु आएका थिए तर नेताहरुले भन्ने एउटा र गर्ने अर्को रहेको छ । त्यसैले निर्मला हत्याकाण्डमा न्याय दिन नसक्नु भनेको न्यायको वहिस्कार गरे सरह नै हो । यस विषयमा गृह मन्त्रालय एकोहोरो लाग्नुपर्ने हो तर वेवास्ता गरिरहेको छ,’ उनले भने ।

लामो समय बितिसक्दा पनि निर्मला जस्तै अरु थुप्रै किशोरीहरुले न्याय पाउन नसकेको भन्दै अझै सरकारप्रति आशा जीवित रहेको सल्लु तिवारी बताउँछिन् ।

उनले भनिन्, ‘न्याय त पाउनुपर्ने हो तर न्याय पाउन नसक्नु दुर्भाग्यजस्तो लाग्छ । प्रमाण नै नष्ट गरिसकेको हो कि । निर्मला जस्तै अरु थुप्रै यस्ता केसहरु छन् कसैको पनि पहिचान खुलाउन सकेको छैन् । तर पनि सरकारप्रति आशा राखेका छौँ । सत्य तथ्य पहिचान बाहिर निकाल्न सकोस् । कानुन अंन्धो हुन्छ उसले प्रमाण हेर्ने हो नि ।’

पीडितले न्याए पाउनैपर्ने र त्यसको लागि फेरि आवाज उठाउनुपर्ने समय आएको एक विद्यार्थी बताउछन् ।

सङखुवासभा खादवारीका काजी बहादुर घिमिरे निर्मला जस्ता युवतीहरु आज विदेशमा अलपत्र परी बेचिएको बताउँछन् । जिवित हुँदा स्वदेशमा न्याय नपाउने अनि विदेशमा झन नेपाली महिलाको विजोग भइरहेको अवस्था छ ।

उनले भने, ‘निर्मला जस्ता सयौं निर्मलाहरु यहाँ बितिसकेका छन् । हाम्रा नेताहरुले परिवर्तनका नाममा जनतालाई अल्मलाइरहेका छन् । निर्मलाजस्ता युवतीहरु विदेशमा अलपत्र परेका, कोही विदेशमा मारिएका, कोही बेचिएका छन् । स्वदेशमा त न्याय पाउँदैनन् भने त्यो विदेशका नेपालीहरु के न्याय पाउलान् र ।’

उनले नेतृत्वको कमजोरीका कारण जनताले आफ्नो छाती खुम्चाएर बस्नु परेको भन्दै अन्यायमा परेकाले न्याय नपाउँदा दुःख लागेको बताए । 

यसैगरी अछाम घर भएका राजेश कुमार शाहीले राज्यले न्याय दिने आश्वासन मात्र दिएको भन्दै अपराधी जोगाउने काम गरेको बताए ।

उनले भने, ‘आफ्नै क्षेत्रकी चेली हुन । आजको मितिसम्म न्याय पाउन सकेकी छैनन् । राज्यले गर्छु भनेर आश्वासन मात्र दिएको छ । जनतालाई चित्त बुझदो जवाफ दिन सकेको छैन । राज्यले जुन अनुसन्धान गर्नुपर्ने हो त्यस्तो अनुसन्धान गर्न सकेको छैन । यो भ्रष्टहरुको राज्य हो, दोषीहरुलाई मात्र जोगाउने काम गरिरहेका छन् ।’

यस्तै, रामेछाप लिखुतामाकोशी गाउँपालिकाका जनप्रनितिधि समेत रहेका शिवप्रसाद न्यौपानेले अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउन पर्ने बताउँछन् ।

‘न्याय पाउनपर्ने हो । सत्यतथ्य छानविन हुनुपर्ने हो भएन् । ठूलाहरुको खेलमा सानातिनाको केही लाग्ने रहेनछ । जसले हत्या गर्यो त्यसको आत्माले कहिले शान्ति पाउने छैन । अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउनपर्छ,’ उनले भने ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १२ : ०८ बजे