काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्न आज (जेठ २७) अन्तिम दिन रहेको छ। कम्पनीले भोलि (जेठ २८) देखि एक दिनका लागि बुक क्लोज गर्ने तयारी गरेको छ।
बुक क्लोजको आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र कम्पनीले वितरण गर्न प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा आगामी साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हालको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।
लाभांश पारित गर्नका लागि कम्पनीले आगामी असार १० गते काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १०:३० बजे साधारण सभा आयोजना गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, र अघिल्लो आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत हुनेछन्।
प्रतिक्रिया