Logo

Breaking News 1

‘६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो’



कविन्द्र बुर्लाकोटी
सहमहामन्त्री–राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)

निर्मला पन्तको वलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो । रवि लामिछाने जुनबेला गृहमन्त्री हुनुहुन्थ्यो त्यसबेला उहाँले हत्याकाण्डदेखि लिएर अरु थुप्रै कुराहरु मुख्य प्राथमिकतामा राखेर काम गर्नेगरि तयारी गर्नु भएको थियो । उहाँले ठूला ठूला भ्रष्टाचारका काण्डहरु खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन वा रुचेन । ठूला नेताहरु जेल जाने अवस्था आयो । सरकार नै ढालेर रवि लामिछानेलाई बाहिर ल्याउने मात्रै नभइ थुनामा पठाउने अवस्था ल्याइदिए ।

निर्मलाको विषयलाई प्राथमिकतामै राखेर काम गर्नुपर्छ भन्नेमा हामी छौं । यसमा दलीय रुपमा गर्नसक्ने कुराहरु, आवाज उठाउने कुराहरु, सदनमा यसलाई बुलन्द गर्ने कुुराहरु सम्बन्धित समितिमा कुराहरु उठाउनेमा लागिराखेका छौं । रवि लामिछाने सम्बन्धमा मानव अधिकार हनन्का दुईवटा ठूला घटनाहरु नै घटे ।

राती उहाँलाई सुतिरहेको अवस्थामा अचानक उठाएर चितवनबाट पोखरा लैजाने काम भयो । उहाँलाई स्थानान्तरण गर्ने काम गरियो । त्यो मानव अधिकार हनन भएको घटना थियो । अर्को भनेको उच्च अदालतको आदेश आएको सूचना प्रहरीले रेडियो वा टेलिभिजनबाट सुन्नेवित्तिकै कसैले परिचालन गरेको शैलीमा राती नै समातेर अपहरण शैलीमा लिएर जाने काम भयो । त्यसविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा हामीले निवेदन दिएका छौं ।

यस्तो अवस्थामा हुँदाहुँदै पनि हामी सहकारी पीडित, मिटरव्याज पीडितहरुका कुरा सरकारलाई सोध्ने मात्र नभइ निर्मला पन्त हत्याकाण्ड जस्ता कुराहरुलाई पनि प्राथमिकतामा राखेर आवाजहरु उठाइरहेका छौं । एक जना वालिका यसरी बलात्कृत हुनु दुर्भाग्यपूर्ण कुरा हो । यस्तो घटनापश्चात पनि राज्यले प्रभावकारी ढंगले अनुसन्धान गरेर दोषीलाई कारवाही गर्नुपर्ने हो र परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने थियो त्यसमा राज्य चुकेको देखिन्छ ।

विभिन्न किसिमका अनुसन्धानमा अवरोधहरु खडा भएजस्तो देखिन्छ । अनुसन्धानलाई पठाइएका अनुसन्धान अधिकृतहरु पनि सक्षम थिएनन् की भन्ने लाग्छ । किनभने निर्मलाको कपडा चाँही पानीमा भिजाएर पखालेको जस्तो देखिन्छ । प्रमाण नष्ट होस् भन्ने हिसाव त्यस्तो काम भएको छ । तर यस घटनाले छिटो न्यायिक रुपमा पुरा होस् र उहाँलाई न्याय मिलोस् भन्न चाहन्छु ।

निर्मला जस्ता सयौंलाई न्याय दिनेगरी रवि लामिछानेले गर्न खोज्नु भएको कामप्रति हामी दृढ छौं । तर उहाँलाई जुन हिसावले खेदियो त्यो दूर्भाग्यपूर्ण छ । उहाँलाई काम गर्नै दिइएन । यदी ६÷८ महिना काम गर्न पाएको भए यस्ता केही काण्डहरु र निर्मला पन्तको वास्तविकता बाहिर आउथ्यो ।

प्रमाण नष्ट गर्नेहरुलाई नै समातेर अनुसन्धान सुरु गर्ने हो भने सबैकुरा बाहिर आउँछ । त्यसमा को को संलग्न थिए, कहाँ कहाँबाट प्रमाण लुकाउन आदेश आयो ? त्यो आदेश कसरी आएको थियो भन्ने हिसावमा लागेको भए अहिलेसम्म अनुसन्धान टुंगिसक्थ्यो । दोषिहरु प्रकाउ पर्ने थिए । यदी सम्बन्धित व्यक्तिहरु दृढ भएर लाग्ने हो भने यस्ता गुपचुप भएका घटनाहरुबाट दोषी पत्ता लाग्ने र निर्दोषहरु उम्किने अवस्था अवश्य आउँछ । (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ५२ बजे