Logo

मनोरञ्जन

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा प्रशंसा



पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत र निर्माता हिमाल कडरिया लगायतको उपस्थिति थियो ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू तथा पत्रकारहरूले दर्शकको रूपमा चलचित्र हेरेका थिए । चलचित्र हेरेपश्चात् दर्शकले यसको कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको व्यापक प्रशंसा गरेका छन् । तर, प्रशंसासँगै दर्शकहरूमा एक प्रकारको आक्रोश पनि देखिएको थियो ।

‘महाभोज’ ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । साथै, दर्शकले यो चलचित्र मनोरञ्जक रहेको समेत बताए ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ ।

चलचित्र ‘महाभोज’ यही शुक्रवार जेठ ३० गते देशभर प्रदर्शनमा आउँदै छ । पोखराको सफल प्रिमियरपश्चात् यसको प्रिमियर बुटवल, विराटनगर र धरानमा पनि क्रमशः आयोजना हुँदैछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ३४ बजे