काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९-०८० देखि अहिलेसम्म विभिन्न स्वास्थ्इ संस्थामा ९६ पटक हानीकारक फोहर व्यवस्थापनको अनुगमन गरेको छ ।
पहिलो वर्ष ३१ पटक, दोस्रो (आ. व. २०८०-०८१) वर्ष ५२ पटक र चालु आर्थिक वर्षमा २३ पटक अनुगमन भएको छ । वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार कुनै अस्पतालमा ३ पटकभन्दा धेरै पनि अनुगमन भएको छ ।
अहिले पनि अनुगमन जारी छ । यसवर्ष अस्पताल, क्लिनिक, पोली क्लिनिक, डेन्टल क्लिनिक, आइ. भी. एफ. सेन्टरको पनि अनुगमन गरिएको छ । अनुगमन गरिएका स्वास्थ्य संस्थामध्ये चालु आर्थिक वर्षमा अनुगमन भएका स्वास्थ्य संस्थाका प्रतिनिधि अनिवार्य समावेश हुने गरी आज देखि हानीकारक फोहर व्यवस्थापन र तरल फोहर प्रशोधन प्रणालीका विषयमा प्रशिक्षण सुरु भएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सञ्चालन गरेको प्रशिक्षणमा अस्पताल र पोलिक्लिनिक प्रशासनका कर्मचारी र फोहर व्यवस्थापन इञ्चार्जलाई बोलाइएको छ । फोहर व्यवस्थापनमा उत्पादकका दायित्व, हानीकारक फोहरको शुद्धीकरण प्रक्रिया, तरल फोहर प्रशोधन प्रणाली सञ्चालनसँग सम्बन्धित कानुनी पक्ष, यससँग सम्बन्धित प्रविधि र प्रयोगका विषयलाई प्रशिक्षणमासमावेश गरिएको थियो । प्रशिक्षणको पहिलो दिन आज २० वटा अस्पतालबाट प्रतिनिधिलाई सहभागी गराइएको थियो । तालिम भोलि र पर्सि नियमित चल्नेछ । हरेक दिन २० वटा अस्पतालका प्रतिनिधिलाई सहभागी गराइनेछ ।
हानीकारक फोहर व्यवस्थापनमा स्वास्थ्य संस्थाहरुको दायित्वका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य प्रसुन्नरत्न बज्राचार्यले भने, ‘फोहर व्यवस्थापनका लागि सहज हुने नीति चाहिने भए पृष्ठपोषण दिनुहोला । तर, तपाईँहरुले फोहर उत्पादकको दायित्व पूर्ण रुपमा पालना गर्नुपर्छ ।’ त्यस क्रममा आयोगका अर्का सदस्य सरस्वती मानन्धरले घरघरमा औषधिजन्य फोहरको मात्रा भेटिन थालेको बताउँदै, ‘अस्पतालहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत घरमा पुग्ने हानीकारक फोहरबाट जनस्वास्थ्य र वातावरणीय असर कसरी घटाउने भन्ने विषयमा काम गर्ने बेला आएको छ । यसबेला अस्पताल आफैँले उत्पादन गरेको फोहरको व्यवस्थापनका विषयमा दोधारमा पर्नु र जहाँको तहीँ अड्किनु हुँदैन ।’
स्वास्थ्य संस्थाहरुको अनुगमन गरेपछि आएको सुधार, स्वास्थ्य संस्थाका सुझाव तथा प्रतिक्रियाका आधारमा विभागले आगामी दिनका कार्यक्रमका बारेमा धारणा निर्माण गर्नेछ । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईको भनाइ छ ।
विभागका वरिष्ठ इञ्जिनियर निशा कोइरालाले सम्पन्न काम र आगामी योजनाका विषयमा कुरा गर्दै भने, ‘अस्पतालहरुलाई हामी सूचित गर्न चाहन्छौँ कि यसपछि अस्पतालबाट उत्पादन हुने तरल फोहर व्यवस्थापनको अभ्यास अनुगमन गर्नेछौँ ।’ महानगरपालिकाले गर्ने नियमित अनुगमन र उजुरीका आधारमा अनुगमन हुने कोइरालाको भनाइ छ ।
प्रशिक्षणमा स्वास्थ्य संस्थाजन्य फोहरको प्रकृति र व्यवस्थापन विधिका विषयमा प्रस्तुतिकरण गर्दै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले, फोहरलाई स्रोतमा प्रभावकारी वर्गीकरण गर्न सकिएन भने अन्य कुनै पनि प्रयासले दिगो व्यवस्थापन गर्न नसकिने धारणा राखे ।
सावधानी र सचेतना भए प्रयोगमै फोहरको मात्रा घटाउन सकिन्छ । यस विषयलाई संवेदनशील भएर कार्यान्वयन गराउनुपर्छ । प्रशिक्षणमा इको कन्सर्न नेपालका प्रमुख कार्यकारी अधिकृत, चारु नकर्मीले, पानी प्रशोधन गर्ने प्रविधि छनोटमा ध्यान दिएर दिगोपना कायम गर्न सकिने सुझाएका छन् ।
५० देखि १ सय शय्या भएका अस्पतालहरुबाट प्रति शय्या करिब ३४० लिटर फोहर पानी उत्पादन हुन्छ । १ सयभन्दा धेरै शय्या भएका अस्पतालहरुबाट प्रति शय्या ४५० लिटर तरल फोहर उत्पादन हुन्छ । यसरी उत्पादन भएको सबै पानी हानीकारक हुँदैन तर, प्रशोधन भने गर्नुपर्छ । प्रशोधनपछि लुगा धुँदा आएको, क्यान्टिनबाट आएको पानी पुनःप्रयोग गर्न सकिन्छ । उनले अस्पतालबाट निष्कासन हुने फोहर पानीको मापदण्डका विषयमा कुरा गर्दै, अस्पतालहरुबाट निष्कासन हुने तरल फोहर पानी प्रशोधन नगरी भूमिगत पानीको स्रोतलाई दुषित बनाउने गरी जमिनभित्र पठाउन नपाइने बताए ।
वातावरण निरीक्षक श्रेष्ठका अनुसार अस्पताल, क्लिनिक, फार्मेसी, औषधी पसल, ब्लड बैङ्क, प्याथोलोजिकल प्रयोगशाला, पशु–स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानीकारक फोहरमैला प्रशोधन नगरी बाहिर निकाल्न वा जथाभावी राख्न, फाल्न हुँदैन ।
यस्तो फोहर स्वास्थ्य प्रयोगशाला, खोप केन्द्र, स्वास्थ्य शिविर जस्ता स्वास्थ्य सेवाप्रदायक संस्था वा स्थानबाट पनि उत्पादन हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य संस्थाहरुबाट प्रति बेड प्रति दिन ०.९९ किलोग्राम देखि १.७३ किलोग्रामसम्म फोहर उत्पादन हुन्छ । यसरी उत्पादन हुने संक्रामक फोहरलाई निर्मलीकरण नगरी व्यवस्थापन गरियो भने जनस्वास्थ्य, हावा, पानी र माटोको सम्पर्कमा आएर मानिससँगै जैविक तत्वहरुलाई प्रत्यक्ष, अप्रत्यक्ष र दीर्घकालीन समस्याहरु आउँछन् ।
महानगरपालिकाले अनुगमन गर्दा प्रचलित मापदण्ड पालना गरेको पाएन भने काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक संरक्षण ऐन २०७७ बमोजिम रसायनिक फोहरमैला, औद्योगिक फोहरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला, जोखिमपूर्ण फोहरमैला वा हानीकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउने गरेको छ । यही कसुर दोहो¥याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था ऐनमा छ ।
प्रतिक्रिया