पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नम्बर–३ रिमिघा लेक क्षेत्रमा यार्सागुम्बा भेटिएपछि उक्त स्थानमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ।
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार, रिमिघा लेक क्षेत्रमा भेटिएको वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा परीक्षण गराउँदा यार्सागुम्बा नै भएको पुष्टि भएको हो। उक्त क्षेत्रको झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेको थियो।
यार्सागुम्बा भेटिएको पुष्टि भएपछि रम्भा गाउँपालिकाले सूचना जारी गर्दै सो क्षेत्रमा सर्वसाधारणको प्रवेश पूर्ण रूपमा निषेध गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रयोगशालाको प्रतिवेदन प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर थप निर्णय गरिएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले यार्सागुम्बा रहेको पुष्टि भए पनि यसको प्रजाति र औषधीय मूल्य बारे अझै अध्ययन आवश्यक रहेको बताए। “रिमिघा लेकमा यार्सा भएको प्रमाणित भएको छ,” उनले भने, “तर यसको प्रजाति र औषधीय गुण मूल्याङ्कन गर्न थप अनुसन्धान आवश्यक छ।”
सामान्यतः समुद्री सतहबाट ३,५०० देखि ५,५०० मिटर उचाइमा पाइने यार्सागुम्बा पाल्पाको १,८०० मिटर उचाइमा भेटिनु दुर्लभ मानिएको छ। यार्सागुम्बा शक्तिवर्धक, क्यान्सर, क्षयरोग, मिर्गौला, कलेजो, मुटु लगायतका रोगका लागि औषधि बनाउन प्रयोग हुने बहुमूल्य प्राकृतिक जडीबुटी हो।
नेपाल चीनपछि विश्वमा दोस्रो ठूलो यार्सागुम्बा आपूर्तिकर्ता मुलुक हो। पाल्पामा यार्साको पुष्टिले जिल्लाबासीमा उत्साह जागेको छ भने स्थानीय तहले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
प्रतिक्रिया