Logo

मुख्य समाचार

लागूऔषध नियन्त्रणका लागि संगठित हुन जरुरी : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले समाजमा लागूऔषधको अवैध कारोबारदेखि दुव्र्यसनले अवस्था भयावह रहेको भन्दै त्यसको नियन्त्रणका लागि सबै संगठित हुनुपर्नेमा जोड दिएका हुन् ।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताए ।

आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा समग्र राष्ट्र एक हुनुपर्ने मन्त्री लेखकको भनाई थियो ।

‘वर्षेनी ठूलो धनजनसहित मुलुकलाई अपूरणीय क्षति पु¥याउने प्रमुख भूमिकामा रहेको लागुपदार्थको ओसारपसार, भण्डारण र सेवनको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध सरकारी तथा गैरसरकारी संस्था र नागरिक समाजका बीच सहयोग र सहकार्य हुन जरुरी छ,’ मन्त्री लेखकले भने,‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार न्यूनीकरण तथा नियन्त्रणमा सबैभन्दा नजिक जोडिने अभिभावकसहित परिवारका सदस्य, विद्यालय परिवार र स्थानीय तहको विशेष ध्यान जान आवश्यक छ ।’

गृहमन्त्री लेखकले यसअघि जस्तै यस वर्ष आगामी असार ६ देखि १२ गतेसम्म देशव्यापी रुपमा मनाउन लागेको सो दिवसलाई परिणाममुखी बनाउन सबैसँग आग्रह समेत गरे ।

आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि मन्त्री लेखकले लागूऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर क्राइम थप चुनौतीका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि मन्त्रालय प्रयासरत रहेको बताए ।  

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ५ : ४७ बजे