Logo

संवाद

शरीरमा भिडियो एक्सरे हजार पटक गरेपनि हुन्छ, तर सुरक्षित हुनुपर्छ : डा.विष्णु सिग्देल


२३ जेष्ठ २०८२, शुक्रबार  

69
Shares

विश्वका विकसित देशहरुमा प्रयोग भइरहेका प्रविधिहरु नेपालमा आइसकेको छ । अल्ट्रासाउन्ड सम्बन्धी ‘थ्रिडी’, ‘फोरडी’ मेसिनहरु उपलब्ध छन् । अत्याधुनिक  सिटीस्क्यान र एमआरआइ पनि नेपालमा संचालित छन् । प्रविधिको दृष्टिले नेपालमा कुनै कमी छैन् । तर समस्या के छ भने विरामीहरु त्यस्ता प्रविधिको पहुँचसम्म पुग्ने अवस्था देखिदैन् ।

डा.विष्णु सिग्देल

रेडियोलोजिस्ट

रेडियोलोजी भनेको साउन्डको वेभहरुलाई शरीरमा पठाएर जाँच गरिने एक प्रविधि हो । त्यस अन्तर्गत वेभहरुलाई रिफ्लेक्ट गरेर मेसिनले क्याप्चर गरेर साउन्डको माध्यमबाट फोटोमार्फत शरीरका अंगहरुको अवस्था बुझ्न सकिन्छ । यसमा विकिरणको प्रयोग हुँदैन् । त्यसकारण यो एकदमै सुरक्षित प्रविधि हो ।  एक्सरे र सिटीस्क्यानमा विकिरणको प्रयोग हुन्छ । तर अल्ट्रासाउन्ड र भिडियो एक्सरेमा कुनैपनि विकिरण प्रयोग हुदैँन् । त्यही भएर ढुक्क भएर अल्ट्रासाउन्ड गर्दा हुन्छ । यसले कुनै असर गर्दैन् ।

रेडियोलोजीलाई दुई प्रकारमा विभाजन गर्न सक्छौ । एउटा डाइग्नोस्टिक हो, यसले रोग पत्ता लगाउँछ । अर्को थेरेपेटिक हो, त्यसले रोगको उपचार गर्ने, रोग पत्ता लगाउनका प्रयोग गर्छौं । शरीरमा भएका लगभग धेरै नै रोगहरु हामीले भिडियो एक्सरेबाट पत्ता लगाउन सक्छौ ।

जस्तै, कलेजो सम्बन्धी रोगहरु वा मृगौलाको पत्थरी, पाठेघरमा मासु पलाएको समस्यालगायत हरेक किसिमको रोगहरु यसबाट पत्ता लगाउन सकिन्छ । खासगरि पित्तथैलीमा भएको पत्थरी पनि पत्ता लगाउन सकिन्छ । यस बाहेक गर्भवती महिलाहरुको बच्चाको विकासको अवस्था, बच्चा कुन महिनामा कति बढ्यो अर्थात शारीरिक बृद्धिको अवस्थालगायतका कुराहरु पत्ता लगाउनका लागि पनि भिडियो एक्सरेले सहयोग गर्छ ।

अर्को थेरापेटिक प्रविधि पनि हुन्छ । त्यसले हाम्रो पेटभित्र वा फोक्सोमा पानी जम्यो भने त्यो पानीलाई भिडियो एक्सरेको सहायताले निकाल्न पनि सकिन्छ । सुइ हालेर निकाल्न पनि सकिन्छ । अर्को कुरा शरीरमा कुनै गिर्खाहरु आयो भने भिडियो एक्सरेले पत्ता लगाउन सक्छ । त्यसपछि मासुहरु निकाल्न पनि सकिन्छ ।

रेडियोलोजिस्टको भूमिका र नेपालको अवस्था

रेडियोलोजिस्टको भूमिका एकदमै महत्वपूर्ण र संवेदनशील हुन्छ । कुनैपनि बिरामीहरुको प्राथमिकता रोग पत्ता लगाउने कुरा सबैभन्दा महत्वपूर्ण हो । रोग पत्ता लगाउनका लागि महत्वपूर्ण भूमिका भनेको रेडियोलोजिस्टकै हुन्छ । किनभने बिरामीहरु एक्सरे गर्न आउँदा समस्याको पहिचान रेडियोलोजिस्टहरुले नै गर्छन् । त्यसपछि मात्र बिरामी उपचारमा जानुपर्ने हुन्छ । रोग पत्ता लागेपछि मात्र कुन उपचार पद्धतीमा जाने हो, त्यो थाहा हुन्छ । रोग पत्ता लागेपछि कस्तो उपचारमा जाने त्यो पनि रेडियोलोजिस्टले भनिदिनुपर्छ । त्यसकारण पनि हाम्रो भूमिका महत्वपूर्ण हुन्छ ।

विश्वका कुनैपनि विकसित देशहरुमा प्रयोग भइरहेका प्रविधिहरु नेपालमा आइसकेको छ । अल्ट्रासाउन्ड सम्बन्धी ‘थ्रिडी’, ‘फोरडी’ मेसिनहरु आइसकेको छ । सिटीस्क्यानहरुको कुरा गर्दा २५६–५१२ को सिटीस्क्यान आइसकेको छ । अत्याधुनिक एमआरआइ पनि नेपालमा संचालित छन् । किनकी, अन्य देशहरुमा पनि यही प्रविधिको प्रयोग भइरहेको छ । प्रविधिको दृष्टिले नेपालमा कुनै कमी छैन् । तर समस्या के छ भने विरामीहरु त्यस्ता प्रविधिको पहुँचसम्म पुग्ने अवस्था देखिदैन् । किनकी हामीले ति प्रविधिहरुलाई ठाउँठाउँमा पुर्याउन सकेका छैनौं । प्रविधिहरु सहरहरुमा मात्रै केन्द्रीत छन् । सबै तहका विरामीको माझ पुग्न सकेको छैन् । तर प्रविधिमा चाँही एकदमै राम्रो विकास भएको छ ।

सबैभन्दा प्रमुख कुरा भनेको रेडियोलोजीमा प्रयोग हुने प्रविधिहरु नै हो । यस्ता प्रविधिहरु मार्फत गरिने सेवा केही मंहगो हुन्छ । किनकी मेसिनहरु एकदमै महङ्गो हुन्छन् । एउटा सानो मेसिन किन्नुपर्दा १०–१२ लाखदेखि सुरु भएर करोडौं करोड मूल्य पर्छ । त्यसैले धेरै खर्चिलो हुने भएकाले ग्रामीण क्षेत्रमा पुर्याउन सकिएको छैन् । अर्को कुरा भनेको यसमा गरिने लगानी पनि हो । लगानी अनुसारको प्रतिफल पनि छैन् । करोडौंको लगानी गरेर आयस्रोत भएन भने पनि लगानी गर्नु पनि हुँदैन् ।  मंहगो मूल्य र जनशक्तिको अभावका कारण पनि यस्ता मेसिन ग्रामीण इलाकाहरुमा पुर्याउन सकिएको छैन् ।

न्यून संख्यामा विशेषज्ञ

नेपालमा रेडियोलोजिष्टको संख्या चारपाँच सयको हाराहारीमा मात्रै होला । जसका कारण देशका कुना कुनामा पुगेर सेवा दिन कठिन भइरहेको छ । संख्या कम भएकाले पनि हामीमा भएको विशेषज्ञता गाउँ गाउँमा पुर्याउन एकदमै अप्ठ्यारो छ ।

जनशक्ति पुर्याउन नसक्नु सरकारको कमजोरी हो । त्यसमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । सरकारले ध्यान दिने भनेको स्रोत साधनमा पनि हो । र अर्को चाँही जनशक्ति नै हो । यो दुई कुरामा चाँही विशेष ध्यान दिनुपर्छ । एउटा रेडियोलोजिष्ट गाउँमा गयो तर त्यहाँ एक्सरे वा अल्ट्रासाउन्ड मेसिन केही छैन् भने गएर पनि के काम ? मेसिन भयो तर रेडियोलोजिष्ट भएन भने केही काम हुँदैन् । त्यसैले सबैभन्दा प्रमुख कुरा भनेको यि दुईवटा कुरा गाउँमा पुर्याउन सरकारले पहल गर्नुपर्छ । जहाँ आवश्यक छ त्यहाँ लगेर व्यवस्था गर्न सक्नुपर्छ । मेसिन भयो भने गाउँमा गएर काम गर्न जो पनि तयार हुन्छ ।

बीमाको सवाल र एक्सरेको प्रभाव

स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा छ । तर अहिले बीमाकाृ विषय निकै पेचिलो छ । बीमा कस्तो भइरहेको छ भने सरकारले जुन लगानी गरेको छ त्यो लगानी सही सदुपयोग हुन सकिरहेको छैन् । बीमालाई जुन रुपमा प्रयोग गर्नुपर्ने हो त्यो राम्रोसँग अनुकरण गर्न सकेका छैनौं । सरकारले बीमाको नीतिहरुलाई राम्रोसँग मनिटरिङ गर्न सकिरहेको छैन् । धेरै कुराहरु मिसयूज भइरहेको छ । राज्यले राम्रोसँग मनिटरिङ गर्यो भने स्वास्थ्य क्षेत्रमा राम्रो प्रतिफल प्राप्त गर्न सक्छौं ।

भिडियो एक्सरे दुई, तीन वा पाँच पटक गर्दा हाम्रो शरीरमा केही असर गर्दैन भनेर बिरामीले प्रश्न सोध्ने गर्छन् । तर हजार पटक पनि भिडियो एक्सरे गरेपनि कुनै  असर गर्दैन । किनभने एक महिना गर्भदेखि लिएर नौ महिनाको बच्चासम्म भिडियो एक्सरे गरिन्छ । जन्मेको बच्चाको समेत भिडियो एक्सरे गर्ने गरेका छौं । यदि हाम्रो  पेटमा भएको बच्चालाई त सुरक्षित रुपमा एक्सरे गर्दैन भने बाहिर निस्केको अरु मान्छेहरुलाई कुनै असर गर्दैन् । सय वा हजार पटक अल्ट्रासाउण्ड र एक्सरे गरेपनि कुनै अंगमा समस्या आउँदैन् । यसमा सबै जना ढुक्क हुँदा हुन्छ । उमेर विशेष भनेर केही पनि मापदण्ड निर्धारण गरिएको छैन् । बरु भर्खरै जन्मेको बच्चाको टाउकोको पनि भिडियो एक्सरे गर्न सकिन्छ । टाउको भित्र ब्रेनको विकास कस्तो भइरहेको छ भनेर बुढेसकालमा आउनुभएका बिरामीहरुको पनि टाउकोको भिडियो एक्सरे गर्न सकिन्छ ।

जुनसुकै उमेरका र शरीरको जुनसुकै अंगको पनि लगभग भिडियो एक्सरे गर्न  सकिन्छ ।  एकदेखि डेढ बर्षसम्मको बच्चाको टाउको भिडियो एक्सरे समेत गर्न मिल्छ ।  यसैगरी घाँटी, हात, खुट्टा, पेट, छाती सबै ठाउँको भिडियो एक्सरे गर्न  मिल्छ । जुनसुकै उमेरको मान्छेमा भिडियो एक्सरे गर्न मिल्छ । अल्ट्रासाउण्ड मेसिनको कुरा गर्दा हाल बजारमा आएको थ्रीडि र फोरडी मेसिन हो । प्राविधिक दृष्टिकोणमा हामी कुनैपनि अन्य देशभन्दा पछाडि छैनौं । गर्भावस्थाको बेलामा राज्यले चार पटक भिडियो एक्सरे गर्ने भनेर भनेको छ । तर आवश्यकता अनुसार जतिपटक पनि एक्सरे गर्न मिल्छ । त्यसले बच्चा र आमामा कुनैपनि असर गर्दैन । नेपालमा स्वास्थ्यसँग सम्बन्धित राम्रो मेनपावर छ । सबै दक्ष हुनुहुन्छ । हामी कुनैपनि देशको कुनैपनि मेनपावरहरु भन्दा कम छैनौं ।  टेक्नोलोजि र  ज्ञानका कुराहरुमा अब्बल छौं । कुनै  पनि अरु देशमा हुने सेवाहरु नेपालमा पनि दिन सक्छौं ।  रेडियोलोजीमा हामी पूर्ण रुपमा दक्ष छौं र राम्रो सेवा दिन सक्छौं । 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ६ : ०४ बजे