जनकपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन् ।
शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको रुपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।
मैथिली भाषा संविधानमा दर्ज राष्ट्रिय भाषा रहेकाले यसको विकास र संरक्षणमा बढि जोड दिनुपर्ने उनले बताए । मधेश प्रदेशको नामांकरण जनक र जानकी प्रदेश राखेको भए अझः राम्रो हुन्थ्यो भन्ने धारणा उनले व्यक्त गरे ।
उनले जनकपुरधाम र जानकी माताको महत्वबारे चर्चा गर्दै जनकपुरधामको धर्ती महान रहेको उल्लेख गरे ।
कार्यक्रममा कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधामको विकासका लागि जनकपुरदेखि अयोध्यासम्म रेल चलाउन केन्द्र र प्रदेश सरकारले पहल गरिदिन आग्रह गरेका थिए ।
उनले मधेशमा बोलिने सबैभन्दा बढी मैथिली भाषालाई कामकाजको भाषा बनाउन आग्रह गरे ।
मधेश प्रदेश सरकारको सात करोड रुपैयाँको लागतमा निर्माण मैथिली विकास कोषको भवनमा सांस्कृतिक कला, सभ्यता झल्काउने कार्यक्रम, गोष्ठी, सम्मलेन हुने अध्यक्ष चौधरी जानकारी दिए ।
प्रतिक्रिया