काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वंशजका आधारमा प्राप्त नेपाली नागरिकता विदेशी नागरिकता लिएपछि पनि स्वतः खारेज नहुने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै गर्दा शाहीले वर्तमान कानुनी व्यवस्थाले वैदेशिक लगानी तथा प्रतिभा भित्र्याउन अवरोध गरेको टिप्पणी गरे।
उनका अनुसार हालको ऐनअनुसार वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेका व्यक्ति विदेशी नागरिकता लिँदा नेपाली नागरिकता स्वतः खारेज हुने प्रावधान छ, जसले दीर्घकालीन रूपमा देशको हितमा बाधा पुर्याएको छ।
“देशबाहिर रहेर अर्बौं रुपैयाँ आर्जन गरेका नेपाली मूलका नागरिकले नेपालमा लगानी गर्न सक्दैनन्, किनकि उनीहरूको नागरिकता खारेज भइसकेको हुन्छ,” शाहीले बैठकमा भने, “जसका पुर्खाले यो देश बनाएका थिए, आज तिनका सन्तान विदेशी नागरिक बन्न बाध्य छन्। त्यही बेला विदेशीहरूलाई सजिलै नागरिकता दिने प्रावधानले असमानता र अन्यायको स्थिति सिर्जना गरेको छ।”
शाहीले वंशजको आधारमा प्राप्त नागरिकता विदेशी नागरिकता लिएको आधारमा खारेज नगरी, विशेष किसिमको कानुनी व्यवस्था गरेर उनीहरूलाई पुनः समेट्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफल जारी छ।
प्रतिक्रिया