Logo

विश्व

रुसको ड्रोन र मिसाइल आक्रमण: कीभमा भीषण क्षति, चार घाइते


२३ जेष्ठ २०८२, शुक्रबार  

230
Shares

काठमाडौं । रुसले शुक्रबार बिहान युक्रेनको राजधानी कीभमा ड्रोन र मिसाइलमार्फत भीषण आक्रमण गरेको छ। बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहान साढे ५ बजेतिर प्रारम्भ भएको आक्रमणमा एक आवासीय भवन र अन्य संरचनाहरूमा आगलागी र क्षति पुगेको छ।

कीभका सैनिक प्रशासन प्रमुख तिमुर त्काचेन्कोले टेलिग्राममार्फत जानकारी दिँदै आक्रमणका कारण संरचनाहरू ध्वस्त भई भग्नावशेष थुप्रिएको जनाएका छन्। सरकारी अधिकारीहरूका अनुसार आक्रमणमा चार जना घाइते भएका छन्, जसमध्ये दुई जनाको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

सोलोमियान्स्की जिल्लामा अवस्थित १६ तले एक आवासीय भवनको ११औँ तलामा आगलागी भएको पुष्टि भएको छ। साथै, एउटा धातु ह्यांगरमा पनि आगलागी भएको छ। आपतकालीन उद्धार टोली घटनास्थलमा तैनाथ गरिएको छ।

हाल कीभमा हवाई आक्रमण स्थगित गरिएको भए पनि खार्किभ, सुमी, लुहान्स्कलगायतका क्षेत्रहरूमा हवाई आक्रमणको सतर्कता कायमै रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्। युक्रेनको रियल–टाइम हवाई सतर्कता नक्साअनुसार उत्तरपश्चिमी भोलिन र रिभ्ने, पूर्वी सुमी, पोल्टाभा, खार्किभ, लुहान्स्क, डोनेट्स्क तथा दक्षिणी क्राइमिया क्षेत्रहरूमा पनि सतर्कता जारी छ।

अधिकारीहरूले नागरिकहरूलाई साइरन बजेपछि तुरुन्तै सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन आग्रह गरेका छन्।

उक्त आक्रमण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनद्वारा रूसी हवाई अड्डामा गरिएको ‘स्पाइडर वेब’ ड्रोन आक्रमणसम्बन्धी टिप्पणी गरेकै भोलिपल्ट भएको हो।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  १० : १९ बजे