वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वव्यापी आयात कर वृद्धि गरेपछि अमेरिकी व्यापार घाटा अप्रिल महिनामा ५५.५ प्रतिशतले घटेको छ। बिहीबार सार्वजनिक अमेरिकी वाणिज्य विभागको तथ्यांकअनुसार अप्रिलमा व्यापार घाटा ६१.६ अर्ब अमेरिकी डलरमा झरेको छ।
यो गिरावट ट्रम्पले सबै प्रमुख व्यापार साझेदारमाथि १० प्रतिशत आधारभूत आयात कर घोषणा गरेको महिनामै आएको हो। मार्चमा व्यापार घाटा १३८.३ अर्ब डलर पुगेको थियो। सरकारले कर कार्यान्वयनको घोषणा गरेपछि आयातकर्ताले विदेशी वस्तुको भण्डारणमा लगानी बढाएका थिए।
अप्रिलमा अमेरिकी आयात १६.३ प्रतिशतले घटेर ३५१ अर्ब डलरमा झरेको छ। उपभोग्य वस्तुहरूको आयात मात्रै ३३ अर्ब डलरले घटेको छ। अर्कोतर्फ, निर्यात तीन प्रतिशतले वृद्धि भएर २८९.४ अर्ब डलर पुगेको छ। यसले औद्योगिक आपूर्तिजस्ता वस्तुहरूको निर्यातमा सकारात्मक प्रभाव पारेको छ, यद्यपि अटो र पार्टपुर्जाको निर्यात भने ३.३ अर्ब डलरले घटेको छ।
मार्च र अप्रिलमा राष्ट्रपति ट्रम्पले स्टिल, आल्मुनियम, र सवारीसाधन आयातमा २५ प्रतिशत कर वृद्धि गरेका थिए। पछिल्लो समय उनले ती कर दर दोब्बर पार्ने घोषणा पनि गरेका छन्।
अमेरिकाले चीन, युरोपेली संघ, र जापानसहित दर्जनौँ मुलुकमा उच्च कर दरको घोषणा गरे पनि ती मुलुकसँग जुलाईसम्मका लागि व्यापार वार्ता जारी राख्ने सहमति भएको छ। चीनबाट अमेरिकी आयातमा ठूलो गिरावट आएको छ, जसलाई दुई देशबीच व्यापार विवाद र अस्थायी सम्झौता प्रयाससँग जोडिएको बताइएको छ।
हाल ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको फोन वार्तालाई द्विपक्षीय व्यापार विवादको दीर्घकालीन समाधानतर्फको संकेतको रूपमा हेरिएको छ। तथापि, ट्रम्पले चीनमाथि अस्थायी सम्झौता उल्लंघनको आरोप लगाएका कारण व्यापार सम्झौताको भविष्य अझै अनिश्चित छ।
सरकारी तथ्यांकअनुसार अप्रिल महिनाको व्यापार घाटा सन् २०२३ यता कै सबैभन्दा न्यून स्तरमा पुगेको छ।
प्रतिक्रिया