Logo

समाचार

माधव नेपाल भन्छन्: नबिराउनू, नडराउनू



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि पार्टीका शीर्ष नेताहरू र कानुनविद्हरूसँग उनी छलफलमा जुटेका छन्।

बिहीबार अपरान्ह पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा अध्यक्ष नेपालसहित पार्टीका अन्य नेताहरू र कानुनी सल्लाहकारहरूको सहभागिता थियो। बैठकमा अख्तियारको निर्णयबारे राजनीतिक र कानुनी मूल्याङ्कन गरिएको थियो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुद्दा प्रतिशोधपूर्ण र पूर्वाग्रही ढंगबाट दायर गरिएको आरोप लगाए। “नबिराउनू, नडराउनू, अरु कुरा कानुनी प्रकृयाबाट अघि बढ्छन्,” उनले भने।

अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए। त्यसपछि उनी काठमाडौं फर्किएर पार्टी बैठकमा सहभागी भएका हुन्। पार्टीले अख्तियारको कदमलाई अस्वाभाविक र नियतवश भएको बताएको छ।

पार्टीका अनुसार अब कानुनी र राजनीतिक दुवै स्तरमा विषयको प्रतिवाद गरिनेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ८ : ३० बजे