Logo

प्रदेश

मधेश प्रदेश सभामा संसदीय छानबीन विशेष समिति गठन



जनकपुर । मधेश प्रदेश सभाले संसदीय छानबीन विशेष समिति गठन गरेको छ ।

विगत लामो समयदेखि जनता समाजवादी पार्टी नेपाललगायतका प्रमुख प्रतिपक्षका सांसदहरुले उठाउँदै आएको आर्थिक अनियमितता, संसदीय विकास कोषको रकम अपचलन, मुख्यमन्त्री सतिश कुमार सिंहको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटलगायतका विषयहरु लिएर विरोध गर्नुका साथै छानबीन समिति गठन गर्न माग गर्दै आएका थिए ।

हिजो (बुधबार) बैठक बस्ने बित्तिकै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि बैठक आजका लागि स्थगित गरिएको थियो ।

बजेट ल्याउने समय एकदम नजिक भएकोले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सरकारका आर्थिक वर्ष २०८१/०८२ को विकास योजना तथा कार्यक्रमका सम्बन्धमा प्रदेश सभा बेठकमा सांसदहरुबाट उठेको गुनासोहरुलाई मध्येनजर गर्दै सत्यतथ्य छानबीन गर्न प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम संसदीय छानबीन विशेष समिति गठन गरिएको जानकारी दिए ।

छानबीन विशेष समितिमा सांसद केशव राय, सांसद  कुमरकान्त झा, सांसद किरण कुमारी, सांसद सम्भुकुमार साह, सांसद रोहबर अन्सारी, सांसद रमिता प्रधान, सांसद कनिश पटेल, सांसद उर्मिला देवी सिंह, सांसद कन्चन विच्छा र सांसद बिमला अन्सारी तरन्नुम रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ५९ बजे