Logo

मुख्य समाचार

‘वातावरण जोगाउने नाममा केही गर्न नपाउने हो भने देश गरिब नै रहन्छ’



काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले वातावरण संरक्षणको नाममा एउटा रुख पनि काट्न नदिने हो भने व्यापार घाटा कम गर्न सकिने बताएका छन् ।

विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जंगलका रुखहरु सडेर गइरहेको छन्, त्यसलाई सदुपयोग गर्नु सट्टा बाहिरबाट फर्निचर आयात गरिरहेको भन्दै वातावरण जोगाउने नाममा केही पनि अगाडि बढाउन नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘हामीले हरियाली जोगाउने नाममा रुख एउटा पनि काट्न हुदैँन् ।  जंगलमा कति धेरै रुखहरु सडेर गइरहेका छन् तर हामीले बाहिरबाट फर्निचर आयात गरिरहेका छौं । यदी ति रुखहरुलाई सदुपयोग गर्ने हो भने व्यापार घाटालाई धेरै हदसम्म घटाउन सकिन्थ्यो । तर वातावरण जोगाउने नाममा केही पनि अगाडि बढाउन नसक्ने अवस्था सिर्जना गरेका छौं ।’

यस्तै, उनले सर्वोच्च अदालतले गिट्टी, ढुङ्गा निकासीमा रोक लगाएको भन्दै यस्तो गर्ने हो भने देश सधैँ गरिबको गरिब नै रहने बताए ।

उनले भने, ‘केही वर्ष अगाडिको बजेट भाषणमा देशमा भएको गिट्टी, ढुङ्गा र बालुवा निकासि गरेर व्यापार घाटालाई घटाउँछौ भनेको तर सर्वोच्च अदालतले त्यसमा रोक लगायो । यदी, प्रत्येक देशहरुले आफ्नो प्राकृतिक स्रोतहरुलाई विक्री गर्न पाउँदैन भनेर भन्ने हो भने हामीले तेल कहाँबाट ल्याउछौं ? कुवेतबाट तेल ल्याउन हुन्छ ? अर्को देशबाट ग्यास ल्याउन हुन्छ भने हाम्रो देशमा भएको गिट्टी, ढुङ्गा विक्री गर्न नहुने भनेर प्रश्न गर्न सकिन्छ ।  यदी सकिदैँन् भने त्यो काम गर्दा वातावरणलाई असर पर्ने कुरामा ध्यान दिनुपर्छ । यस्ता कामहरुमा रोक लगाउँदै जाने हो भने हामी गरिबको गरिब नै भएर बस्छौ ।’

यस्तो कुरामा नेपालले पाइला पाइलामा ब्रेक लगाउनु उपयुक्त नहुने भन्दै अन्य देशले प्राकृतिक स्रोतको अधिकतम प्रयोग गरेर नै धनी भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ५१ बजे