काठमाडौं । भिजिट भिसा प्रकरण सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखक आलोचनाको केन्द्रमा छन्। तत्कालीन अध्यागमन विभाग प्रमुख तीर्थराज भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेपछि दिएका बयानले मन्त्री लेखकको भूमिकाप्रति प्रश्न उठेको हो। भट्टराईले उच्च निकायलाई दैनिक ५० लाख रुपैयाँ बुझाउने गरेको बताएका थिए।
प्रकरण सार्वजनिक भएयता प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै संघीय संसद् अवरुद्ध गरेका छन्। प्रतिपक्षीको अवरोधका कारण विधेयक तथा बजेटमाथिको छलफल प्रभावित भएको छ।
गृहमन्त्री लेखकले हालसम्म राजीनामा नदिँदा उनीमाथि सत्तारूढ गठबन्धनभित्रकै दबाब रहेको खुलासा भएको छ। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंका अनुसार लेखकले व्यक्तिगत रूपमा पद छोड्ने इच्छा देखाए पनि पार्टीभित्र र सत्ता साझेदार एमालेबाट राजीनामा नदिन दबाब रहेको छ।
‘गृहमन्त्री लेखकलाई राजीनामा नदिन पार्टी र सत्ता साझेदारबाट ठूलो दबाब छ,’ सांसद बजगाईंले संसद् भवनमा पत्रकारहरूसँग भने, ‘उहाँको मनमा राजीनामा दिने चाहना देखिन्छ, तर वातावरण बन्न दिएको छैन।’
बजगाईंले गृहमन्त्री लेखक दोषी नभए पनि घटनासँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकाले नैतिक जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखे।
यसबीच, लेखकको पद सुनिश्चित गरिसकेपछि मात्रै पार्टीले निर्णय लिने तयारी गरिरहेको स्रोतले जनाएको छ।
प्रतिक्रिया