काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोधका आधारमा गरिएको आरोप लगाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीलाई जग्गा हदबन्दी छुट दिने र बिक्री खुला गर्ने प्रक्रियामा अनियमितता भएको आरोपसहित नेपालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सांसद कुँवरले यो मुद्दा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको निर्देशनमा दायर गरिएको दाबी गरेका छन्। “गिरिबन्धु टी–इस्टेट जग्गा प्रकरणमा आफैं संलग्न ओलीले अब राजनीतिक प्रतिशोधका माध्यमबाट अरूमाथि कारबाही गराउँदै छन्,” कुँवरले बाह्रखरीसँग प्रतिक्रिया दिंदै भने, “अख्तियारको यस्तो गतिविधि हेर्दा अब यो संस्था केपी ओलीको शाखा कार्यालयमा सीमित हुने देखिन्छ।”
उनले ओलीले नेपालमाथि मुद्दा चलाएर आफू पनि भ्रष्टाचार मुद्दामा जेल जाने बाटो खनेको टिप्पणी गरेका छन्।
सांसद कुँवरले अख्तियारको निष्पक्षता र विश्वसनीयता नै प्रश्नमा परेकाले राजनीतिक स्वार्थमा नलाग्न चेतावनी दिएका छन्।
प्रतिक्रिया