काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंको कमलादीस्थित आफ्नै कर्पोरेट कार्यालयमा विद्युतीय सवारी साधन (इभी) चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरूपमा सो चार्जिङ स्टेशनको उद्घाटन गरे।
बैंकले गाडी चार्ज प्रा.लिसँगको सहकार्यमा सिसिटू सिंगल गनको ४० किलोवाट क्षमताको चार्जिङ स्टेशन स्थापना गरेको हो। उक्त स्टेशनबाट बैंकमा आउने ग्राहक तथा कर्मचारीहरूले आफ्ना इभी गाडी चार्ज गर्न सक्नेछन्।
बैंकका संचालक शर्माले इभी प्रवर्द्धनमार्फत वातावरणमैत्री बैंकिङ सेवाको अभ्यास गर्न चार्जिङ स्टेशन स्थापना गरिएको जानकारी दिए। उनले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै ग्राहक सेवामा नवीनतम प्रविधिको प्रयोग गर्दै आएको उल्लेख गरे।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोपण अभियान सुरु गरेको जानकारी दिए। साथै, उनले बैंकले वातावरणमैत्री उत्पादहरूको प्रवर्द्धनमार्फत जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याइरहेको बताए। उनले अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि यस्तो वातावरणमैत्री पहल अनुकरण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारीहरू तथा गाडी चार्ज प्रा.लि.का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंकलाई हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित गरिएको छ। बैंकका देशभर ७७ वटै जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरसहित तीन वटा विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपालभित्र मात्र नभई अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, मलेशिया, यूएई, साउदी अरब, कतार, भारतलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।
प्रतिक्रिया