काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुने भ्रम नराख्न आग्रह गरेका छन् ।
मंगलबार भएको संयुक्त जनआन्दोलनलाई सम्बोधन गर्दै उनले सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन र जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न नसकिने भन्दै यस्तो भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।
उनले भने, ‘नेपालको इतिहासमा पहिलो पटक काठमाडौं महानगरपालिकालाई निषेधित क्षेत्र घोषित गर्न बाध्य भएको छ । सिंगो काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गरेर आन्दोलन समाप्त हुनेछ भनेर यदि भ्रष्ट शासकहरुले सोचेका छन् भने त्यो भ्रमबाट मुक्त हुनको लागि म आग्रह गर्न चाहन्छु । निषेधित क्षेत्र घोषणा गर्दैमा जनताको परिवर्तनको चाहनालाई समाप्त पार्न सकिदैँन् ।’
यस्तै, उनले प्रहरीको दमन कायम गरेर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुलाई जोगाउन सकिन्छ भनेर सोच्नु सपना मात्र भएको पनि बताए ।
कुनै कानून उल्लंघन नगरि भएको शान्तिपूर्ण जुलुसमाथि लाठी प्रहार गर्ने, बुटले हान्ने, प्रतिबन्ध लगाउने जस्ता अपराधका कार्य र दुस्प्रयास कायर र भ्रष्ट सरकारले गरेको उनको आरोप छ ।
प्रतिक्रिया