रामेछाप । रामेछापको गाल्बालाई व्यवस्थित पहाडी बजार र नागीलाई एकीकृत आवास क्षेत्र बनाउने प्रस्ताव सरकारले अघि सारेको छ । रामेछापको खाँडादेवी र सुनापति गाउँपालिकाको सिमाना र खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिका छिर्ने प्रमुख नाकाको रूपमा रहेको गाल्बालाई व्यवस्थित पहाडी बजार बनाउने योजना वाग्मती प्रदेश सरकारले अघि बढाएको हो ।
त्यसका लागि सर्वेक्षणको काम सुरु गरिएको वाग्मती प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका इञ्जिनियर मनोज तिमिल्सिनाले जानकारी दिए । गाल्बालाई व्यवस्थित बजार र गाल्बा नजिकैको नागीलाई एकीकृत व्यवस्थित बस्ती बनाउने सम्भाव्यता अध्ययनको काम सुरु गरिएको उनले बताए ।
त्यसकै लागि ती स्थानको प्रारम्भिक प्राविधिक अध्ययन र स्थानीयसँग छलफल कार्यक्रम भएको उनले जानकारी दिए । छलफलको क्रममा स्थानीयहरू उत्साहित देखिएका तिमिल्सिनाले बताए । यसरी काम गर्दा बस्तीलाई व्यवस्थित र हरेक हिसाबले सुरक्षित बनाइने उनले जानकारी दिए । त्यस्तो बस्तीलाई सबै हिसाबले सुविधा सम्पन्न बनाउने योजना रहेको उनेले सुनाए ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ खाँडादेवी गाउँपालिकाको गोगनपानी, माकादुम र गाल्पालाई व्यवस्थित सहर बनाउने योजना गाउँपालिकाको रहेको बताउँछन् । प्रदेश सरकारले तीनवटा पालिकाको केन्द्र गाल्पालाई व्यवस्थित बजार बनाउन लागेकोमा उनले खुसी व्यक्त गरे ।
त्यस्तै ताल्दुङ, धुस्कोट, सुनडाँडालगायतका क्षेत्रका मानिसहरूलाई एकैठाउँमा व्यवस्थित रूपमा राख्न नागीको बस्ती उपयुक्त रहेको उनले बताए । ताल्दुङ, धुस्कोट, सुनडाँडा लगायतका क्षेत्र बसोबासका हिसाबले जोखिमपूर्ण र भौगोलिक हिसाबले असुरक्षित भएकाले नयाँ बस्ती विकासको योजना अघि सारिएको उनले जानकारी दिए ।
प्रतिक्रिया