Logo

Breaking News 1

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति



काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल भएको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका बेला गृहमन्त्रालयमा दुवैपक्षबीच आज विहान छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए । उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरुले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए ।

उनले भने, ‘हामीले सरकारसँग धेरै पटक सम्झौताहरु सरकारसँग गर्यौं । यसपाली उधारो सम्झौंता गर्नेवाला छैनौं । कुनै नाजयज मागहरु राखेका छैनौं । गण्डकी प्रदेश सरकारले गैरकानुनी रुपमा राइड सेयरिङलाई मान्यता दिएको छ यो फिर्ता लिनुपर्छ भनेका हौं । तर आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । वार्ता कमिटीमा यातायातका चार र अन्य मन्त्रालयका सात गरि ११ जनाको वार्ता कमिटि गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ । आज दिनभरी नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्नेगरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौं । अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ ।’

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेषगरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १२ : १९ बजे