Logo

मुख्य समाचार

कमल थापा प्रहरी नियन्त्रणमा, दीपक सिंहलाई केहीबेर थुनामा राखियो



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापालाई आइतबार काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंहलाई प्रहरीले केहीबेर सोधपुछका लागि थुनामा राखेको थियो। सिंहले प्रहरीमाथि चर्को स्वरमा नकारात्मक टिप्पणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी प्रमुख एसपी अपिल बोहोराले जानकारी दिए।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापालाई भेट्न श्रेष्ठ र सिंह दुवै प्रहरी परिसर पुगेका थिए। तर कुराकानीकै क्रममा श्रेष्ठलाई बाहिर निकालेर सिंहलाई केही समयका लागि थुनामा राखिएको थियो।

नारायणचौर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दै थापालाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएपछि थापामाथि मादक पदार्थ सेवन (मापसे) परीक्षण गराइएको थियो। प्रहरी स्रोतका अनुसार परीक्षणमा मापसे नगरेको पुष्टि भएको छ।

थापालाई हालसम्म हिरासतमा राख्ने वा अन्य कानुनी प्रक्रिया अघि बढाउने विषयमा निर्णय हुन बाँकी रहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ८ : ३१ बजे