Logo

धर्म / संस्कृति

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन



ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा  सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन् ।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरे । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति  थियो ।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ६ : ४७ बजे