काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापासहित ६ जनालाई प्रहरीले काठमाडौंमा हिरासतमा लिएको छ।
आइतबार नक्सालस्थित नारायणचौरमा आयोजित राजावादी प्रदर्शनमा सहभागी भएका थापासहितका व्यक्तिहरू निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, थापासहित ललितपुर जावलाखेलकी ६२ वर्षीया शीला राणा, भक्तपुर ठिमीका ३२ वर्षीय राकेश बस्नेत, काठमाडौं सामाखुसीमा बसोबास गर्ने नुवाकोटका ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का विनोद कपाली र भक्तपुर चाँगुनारायणका ३४ वर्षीय सरोज तिमल्सिना पक्राउ परेका हुन्।
प्रहरीले जनाएअनुसार बस्नेत, लामिछाने र कपाली व्यवसायी हुन् भने तिमल्सिना राष्ट्रिय युवा मोर्चा नेपालका सदस्य हुन्।
प्रदर्शनकारीले निषेधित क्षेत्रतर्फ जबर्जस्ती अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले आन्दोलन अझै नसकिएकाले हिरासतमा रहेका व्यक्तिहरूको रिहाइबारे निर्णय नभइसकेको जनाएको छ।
प्रतिक्रिया