Logo

विचित्र संसार

भारतमा कोरोना संक्रमण तीव्र, ३ हजार बढी सक्रिय संक्रमित, दुईको मृत्यु



काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण तीव्र रुपमा फैलिन थालेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५७८ सक्रिय संक्रमित उपचाररत रहेका छन् भने संक्रमण २६ राज्यमा फैलिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ जेठमा देशभर १ हजार ९ जना सक्रिय संक्रमित थिए। त्यसको ६ दिनपछि सो संख्या तीन गुणाले बढ्दै ३ हजार ५७८ पुगेको हो। पछिल्लो तथ्यांक अनुसार १ हजार ८१८ जना संक्रमणमुक्त भएका छन्।

केरलमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ६४ नयाँ संक्रमित थपिएसँगै केरलमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ। त्यसपछि महाराष्ट्रमा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना उपचारमा रहेका छन्।

संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन्।

यसबीच, केरल र कर्नाटकमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। केरलमा ६३ वर्षीय पुरुष र कर्नाटकमा २४ वर्षीया युवतीको मृत्यु भएको हो। दुवै जना अन्य दीर्घरोगबाट पनि ग्रसित थिए।

भारतमा बढ्दो संक्रमणले स्वास्थ्य सरोकारवाला निकायहरू सतर्क बनेका छन्।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ३ : ३६ बजे