Logo

Breaking News 1

नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य, र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन् । कार्यक्रम व्यवस्थापन संघ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन् ।

उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको छ । कुनै पनि कार्यक्रम व्यवस्थापन गर्दा कार्यक्रमको समारोहको चरित्रसँग मिल्नेगरि नेपाली कला, साहित्य, संस्कृति र पर्यटनलाई टेवा पुग्ने गरि कार्यक्रम स्थललाई सघाउनु भयो भने हाम्रो नेपालको परम्परागत संस्कृति र कलाको पनि प्रचार हुनेछ । र पर्यटनमा पनि आकर्षण बढ्ने छ । नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र हो । नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार हाम्रो परिचय र मेरुदण्ड हुन् ।’

साथै उनले कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेको बताए । उनले हरेक कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेको समेत बताए ।

उनले भने, ‘कार्यक्रम व्यवस्थापन संघ नेपालले गर्ने हरेक कार्यक्रमहरुले नेपाल बाहिर पनि सांस्कृतिक कार्यक्रमहरु कुटनीतिक रुपमा स्थापित भैइरहेका छन् । जसले हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने कार्यमा महत्वपूर्ण भूमिका खेलेको छ । यस्ता कार्यक्रमहरुले आन्तरिक पर्यटनहरुको प्रवद्र्धन र सामाजिक सांस्कृतिक जागरणमा समेत सकारात्मक प्रभाव पारिरहेका हुन्छन् ।’

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ५ : ३० बजे