काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ नदिएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले मेहेनत गरेर पूरा गर्न सकिने खालको राजस्वको लक्ष्य भएको भन्दै लक्ष्य पूरा नहुने ठाँउ नभएको बताए ।
उनले भने, ‘राजस्वको सन्दर्भका जुन अनुमान गरिएको छ त्यो कुरामा आँखा जुधाएर भन्न चाहन्छु, आगामी आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा राजस्वको समिक्षाको बेला राजस्वको लक्ष्य पूरा भएन भन्ने ठाँउ दिएको छैन् । मेहेनत गरेर पूरा गर्न सकिने खालको लक्ष्य छ । तर चुपचाप बसेर भने केही हुदैँन् ।’
यस्तै, बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गर्दै सिमाभित्र रहेर बजेट निर्माण गरेको बताए ।
उनले भने, ‘बजेटले बजेट निर्माणका आधारभूत मान्यताहरुलाई पालना गरेको छ । बजेट निर्माणको सबै विषयलाई दर्होसँग अनुशरण गरेको छ । बजेट निर्माणका सीमाहरुलाई पालना गरेको छ । सीमाभित्र रहेर बजेट निर्माण भएको छ । कहाँ आम्दानी हुन्छ, कति हुन्छ र कसरी खर्च हुन्छ त्यो सबै यथार्थपरक छ । यसमा स्पष्ट हुनुहोला ।’
बजेटको आकारको विषयमा अनुभवी, पुराना अर्थशास्त्री, अर्थमन्त्री, सचिवले सकारात्मक टिप्पणी गरेको र स्रोतको अनुमान ठिक छ भन्ने प्रतिक्रिया पाएको पनि उनको भनाइ छ । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको बताएका छन् ।
उनले भने, ‘निजी क्षेत्रको हिसाबले भन्दै गरेको र आउनैपर्ने कुरा बजेटमा आएको छ । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित विषयहरु सम्बोधन भएको छ । निजी क्षेत्रले दिएका कतिपय सुझाव पनि बजेटले समेटेको छ । बजेटले निजी क्षेत्रलाई एकदमै प्राथमिकता दिएको छ ।’
उनले भविष्यमा फाइदा हुने खनिज जस्तो वातावरण नबिगार्ने वस्तु आयात गर्न मिल्नेगरि काम गर्नुपर्ने कुरा बजेटले सम्बोधन गरेको भन्दै विगतमा जस्तो कार्यान्वयन नहुने समस्या नआउने आशा गरेको बताए ।
आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको भन्दै सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटाएकोमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले खुशी व्यक्त गरेका छन् ।
उनले भने, ‘आइटी र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हटाएको छ । युवालाई विदेशीनुबाट रोक्न तीन प्रतिशत ब्याजदरमा ७६ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । डिजिटल बैंक स्थापना, विदेशमा लगानी खुला, होटल उद्योगमा कर सम्बन्धी समस्या समाधान, पूर्वाधारको विकास, गुणस्तरिय सेवा विस्तार र बजारीकरणबाट धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन सम्बन्धी कार्यक्रमहरुले यो क्षेत्रहरुको विकासमा ठूलो सम्भावना देखिएको छ ।’
सोही क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि यो बजेटले समग्रमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको र निर्माण क्षेत्रमा भएको समस्यालाई पनि राज्यले पहिचान गरेको भन्दै यसलाई सम्बोधन गर्ने कुरामा पनि सरकार गम्भीर रहेको बताए ।
उनले भने, ‘यो २०८२।८३ को बजेट जुन आएको छ त्यसमा म नेपाल सरकारलाई बधाई दिन चाहन्छु । किनभने जसरी विगतका वर्षमा बजेट आउँदैगर्दा आम सञ्चार माध्यममा कुनै समूह विशेषबाट प्रभावित भएर बजेट आएको छ । र यो बजेटले कुनै एउटा समुदाय र समुहलाई आर्थिक लाभ दिने काम गरेको छ भनेर भन्ने गरिन्थ्यो । तर यो वर्षको बजेटमा त्यस्तो किसिमको कुरा आएको छैन् । बजेटले समग्रमा हरेक क्षेत्रलाई समेट्ने कोशिस गरेको छ । निर्माण क्षेत्रमा भएको समस्यालाई पनि राज्यले पहिचान गरेको छ । यसलाई सम्बोधन गर्ने कुरालाई राज्यले प्राथमिकतामा राखेको छ ।’
यसैगरि कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र विस्तार, लगायतका विषयहरु विगतको निरन्तरता भएपनि सकारात्मक कुरालाई नकार्न नहुने भन्दै निर्यातभन्दा आयात १० गुणा बढी रहेको अवस्थामा देशलाई बदल्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
प्रतिक्रिया