कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।
पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको भन्दै यसले नेपाली खेलकुद क्षेत्रमा एउटा उत्साह थपेको बताए ।
उनले भने, ‘जेष्ठ १५ गते नेपाल सरकारले आफ्नो बजेट प्रस्तुत गरेको छ । इतिहासमै पहिलो पटक नेपाली खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको छ । यो नेपाली खेलकुद क्षेत्रको लागि एउटा उत्साहजनक विषय हो । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’
यस्तै, उनले पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको भन्दै यसमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर बजेट प्रस्ताव गरिएको बताए ।
उनले भने, ‘पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदान निर्माणाधीन रहेको छ । आउने वर्षमा विगत वर्षहरुको भन्दा तेब्बर बढाएर प्रस्ताव गरिएको छ । विस्तृत बजेटको खाका आउँदा तपाईँहरूले थाहा पाउनुहुने छ ।’
पोखरा रंगशालाको नियमित स्तरउन्नतीका काम यस वर्ष पनि चालु रहेको भन्दै आवश्यक अनुसार थप हुदैँ जाने पनि उनको भनाई छ ।
प्रतिक्रिया