Logo

कर्णाली प्रदेश

प्रथम रारा महोत्सव हुने


१६ जेष्ठ २०८२, शुक्रबार  

230
Shares

मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।

छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एचआर मिडिया प्रालिको आर्थिक सहयोगमा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

महोत्सव आगामी जेठ १८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ । रारा तालको पर्यटन प्रवद्र्धन गर्न र जिल्लाका कला, संस्कृति, भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको एचआर मिडिया प्रालिले जनाएको छ ।

राराको पर्यटकीय सम्भावना र मुगुको सांस्कृतिक क्रियाकलापको प्रस्तुतिसहित स्थानीय उत्पादन बजारिकणसँग केन्द्रित रहनेछ ।

जिल्लामा उत्पादन हुने वाणिज्य र औद्योगिक सामग्रीको बजारीकरण, कला सांस्कृतिक भेषभुसा र परम्पराको संरक्षण र राराको पर्यटन प्रवद्र्धनको लागि महोत्सव गर्न लागिएको महोत्सवका अध्यक्ष नरेश भामले बताए । आयोजकका अनुसार महोत्सवमा ४० स्टल राखिने छ ।

स्टलमा मुगुमा पाइने सबै प्रकारका वाणिज्य र औद्योगिक सामग्री उपलब्ध हुने छन्  । स्टल राख्दा बाहिरी जिल्लाको भन्दा स्थानीय ब्यापारीलाई ३० प्रतिशतले छुट दिइने छ ।

महोत्सवले राराको पर्यटन, मुगुको सांस्कृतिक तथा आर्थिक व्यापार प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रथम रारा महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने एचआर मिडिया प्रालिका सदस्य सान्ताराम सेन्चुरीले बताए ।

मुगुमा आजसम्म कुनैपनि ठूलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना भएको र रारा ताल नजिक छायाँनाथ रारा नगरपालिका– ८ बाम्नी चौरमा हुने भएको छ ।

महोत्सव कुनै निकायबाट सहयोग नभइ यहाँका युवा मिलेर आयोजना गरेको प्रथम रारा महोत्सवका सल्लाहकार दिपेन्द्र भामले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ७ : ४० बजे