काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विश्वविद्यालयबीच शैक्षिक विकास, अनुसन्धान, र दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ।
महासंघको सचिवालयमा भएको भेटवार्तामा पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन, संयुक्त अनुसन्धान तथा परियोजनाको सम्भाव्यता, र इन्टर्नशिप तथा रोजगारीका अवसर सिर्जनासम्बन्धी विषयमा छलफल भएको हो।
छलफलका क्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकार्यबाट निजी क्षेत्र र शैक्षिक संस्थाबीचको खाडल कम हुने विश्वास व्यक्त गरे। “उद्योग–व्यवसायको मागअनुसार दक्ष जनशक्ति उत्पादन र युवालाई रोजगारीको अवसर प्रदान गर्न यो सहकार्य फलदायी हुनेछ,” उनले भने।
नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दुनाथ लोहनीले शैक्षिक प्रणालीलाई विश्व बजारसँग जोड्न यस्ता सहकार्य आवश्यक रहेको बताए। “विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना प्रदान गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।
यस्तै, उपकुलपति डा. अर्जुन कार्कीले गुणस्तरीय जनशक्ति उत्पादन विश्वविद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै महासंघसँगको सहकार्य त्यसमा सहयोगी हुने बताए।
दुवै संस्थाले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, र रोजगारीका अवसर सिर्जनाका क्षेत्रमा सहकार्यको सम्भावना रहेको निष्कर्ष निकालेका छन्।
प्रतिक्रिया