काठमाडौं । नेपाल गल्फ संघले ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा आयोजना गर्ने भएको छ। ७२ पारको मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म चल्नेछ।
संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। संघका अध्यक्ष टासी घले र महासचिव दीपक आचार्यले प्रतियोगिताको रूपरेखा सार्वजनिक गरेका थिए।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीहरूको सहभागिता रहनेछ। दक्षिण एसियाका सातै देशलाई निमन्त्रणा गरिए पनि प्राविधिक कारण देखाउँदै पाकिस्तान र माल्दिभ्सले सहभागिता नजनाउने भएका छन्।
पुरुषतर्फ व्यक्तिगत र टिम दुवै स्पर्धा हुनेछन्। टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई खेलाडी चयन गर्नेछ। ३६ होलको खेलपछि समग्र स्कोरको आधारमा विजेता टिम घोषणा गरिनेछ। नेपालले दुई टिम सहभागी गराउने छ।
व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ। सहभागीमध्ये उत्कृष्ट ६० प्रतिशत खेलाडीले अन्तिम १८ होलमा प्रतिस्पर्धा गर्नेछन्। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको मात्र सहभागिता रहनेछ।
हालसम्म प्रतियोगितामा ४५ पुरुष र १० महिला गल्फरको सहभागिता पुष्टि भएको छ। खेलाडी नाम दर्ताको अन्तिम म्याद आइतबारसम्म रहेकोले सहभागी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
यो प्रतियोगितालाई वर्ल्ड एमेच्योर गल्फ र्याकिङ (डब्लूएजीआर) को मान्यता प्राप्त छ। सहभागी खेलाडीहरूले र्याकिङ अंक समेत प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषद्, वाग्मती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटेल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटेल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी र मेहेन्दो होटेल एन्ड स्टुडियो सुइट्सले प्रतियोगितामा सहयोग गरेका छन्।
संघका अध्यक्ष घलेले प्रतियोगिताले नेपालको साथै दक्षिण एसियामा युवा तथा एमेच्योर गल्फको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।
प्रतिक्रिया