पोखरा । टिप टप हेल्प नेपालले नवौं संस्करणको पिएम कप एनभीए लिग (पुरुषतर्फ) को उपाधि जित्दै उपाधि रक्षा गर्न सफल भएको छ। यो उपाधि हेल्प नेपालको पाँचौं एनभीए लिग उपाधि हो ।
बिहिबार सम्पन्न फाइनल खेलमा हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले पराजित ग¥यो । यससँगै हेल्प नेपालले लगातार तेस्रो पटक उपाधि उचाल्ने गौरव हासिल गरेको छ । यो जितसँगै टोलीले माल्दिभ्समा आयोजना हुने काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट पाएको छ ।
गत वर्ष नेपालमै सम्पन्न काभा क्लब च्याम्पियनसिपमा पनि हेल्प नेपाल र गण्डकीले आमने–सामने प्रतिस्पर्धा गरेका थिए । पोखराको खचाखच भरिएको कभर्ड हलमा गण्डकी प्रदेश गत वर्षको फाइनलको हारको बदला लिन दृढ देखिएको थियो ।
साेहीअनुसार उसले खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दुई सेट २५–२० र २७–२५ को स्कोरमा जितेको थियो । एक सेट मात्र जिते पुग्ने अवस्थामा रहेको गण्डकीलाई हेल्प नेपालले चमत्कारिक पुनरागमनका साथ रोक्न सफल भयो । बाँकी तीन सेट क्रमशः २५–२२, २५–१४, र १५–८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले उपाधि सुरक्षित ग¥यो ।
गण्डकी प्रदेशले फेरि एकपटक उपाधिको नजिक पुगे पनि जित हात पार्न सकेन । लगातार तेस्रो पटक च्याम्पियन बनेको हेल्प नेपाल यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि विजेता रहन सफल भएको थियो।
प्रतिक्रिया